देश

सर्वोच्चको आदेशपछि मधेशका मुख्यमन्त्री संसद फेस गर्दै,यादवको बहुमत संकटमा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने भएको हो।

सर्वोच्च अदालतले हिजो फैसला सुनाउँदै समयमै विश्वासको मत नपाए संविधानको धारा १६८ (२) अनुसार सरकार गठन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।

मुख्यमन्त्री यादवले अदालतको आदेश प्राप्त भइसकेको र अन्य राजनीतिक दलहरुसँग संवाद जारी रहेको बताए। उनले विश्वासको मत लिने जानकारी दिँदै अन्तिम समयसम्म समर्थन जुटाउने प्रयास गर्ने बताए। यद्यपि वर्तमान अवस्थाअनुसार यादवले विश्वासको मत पाउने सम्भावना कमजोर देखिएको छ।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले भने विश्वासको मत पाउने वातावरण नरहेकाले यादवलाई राजीनामा दिन सुझाव दिएका छन्। अहिलेसम्म यस विषयमा पार्टीमा औपचारिक छलफल नभएको पनि महतोले बताए। उपसभामुख बबिता कुमारी राउत ईशरले विश्वासको मतसम्बन्धी औपचारिक सूचना नआएको र आफू दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेको जानकारी दिइन्।

विपक्षी गठबन्धनसँग ७४ सांसद रहेकामा मुख्यमन्त्री यादवको पक्षमा एमालेका २४ सहित २६ मत मात्र रहेको छ। विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामन्द्र मण्डल पदमुक्त भइसकेका छन्। संविधानको धारा १६८ (३) अनुसार कात्तिक २३ गते रातारात यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी सांसदले अदालतमा रिट दायर गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *