राजनीति

सभापति देउवाको सक्रियतापछि १५औं महाधिवेशन पुस २६–२८ मा गर्ने कांग्रेसको निर्णय, यस्तो छ कार्यतालिका

काठमाडौं। अन्ततः लामो समयदेखि अनिश्चिततामा परेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ मा गर्ने निर्णय गरेको छ । पार्टीभित्रको आन्तरिक बहस, गुटगत तानातान र मतभेदबीच बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रूपमा महाधिवेशन मिति टुंग्याएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। महाधिवेशनको विषयमा निकै लामो समयदेखि कांग्रेसभित्र दुई धार थिए । तर कांग्रेस सभापति देउवा सिंगापुरबाट उपचारपछि फर्किपछि महाधिवेशनको निष्कर्ष टुङ्गोमा पुगेको हो ।

यस निर्णयसँगै केही सातादेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक पनि आज औपचारिक रूपमा सकिएको छ। यी सबै प्रक्रियाबाट छानिएका प्रतिनिधिहरूले पुस २६–२८ को महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेसमा केही महिनादेखि महाधिवेशन मिति तोक्न नसकिएको कारण आन्तरिक शक्ति सन्तुलन, नेतृत्व विभाजन, वैचारिक बहस र संगठन विस्तारमा देखिएको असन्तुलन मानिएको थियो। मिति तोकिएपछि अब वास्तविक प्रतिस्पर्धा शिर्ष नेतृत्व परिवर्तनमा केन्द्रित हुने देखिन्छ।

शेरबहादुर देउवा पक्ष,गगन–विश्वप्रकाश समूह,कोइराला परिवार,तथा विभिन्न प्रदेशस्तरीय शक्तिकेन्द्रहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।महाधिवेशनको मिति तय भएसँगै कांग्रेसले अब आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशानिर्देश बनाउने तयारी सुरू गर्नेछ। तर यो प्रक्रियामा देखिने राजनीतिक समीकरण र गठबन्धनले कांग्रेसको भविष्यको स्वरूप कस्तो हुने हो भन्ने कुरा महाधिवेशनपछि मात्र स्पष्ट हुनेछ।

  • कांग्रेसको महाधिवेशन कार्यतालिका :
  • मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

  • जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

  • क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

  • नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

  • विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

  • गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

  • गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

  • प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

  • एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

  • प्रदेश अधिवेशन २३ र २४ गते ।

  • महाधिवेशन पुस २६, २७ र २८ गते ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *