देश

जेनजी आन्दोलनमा हतियार र कार्यालय सुरक्षित गर्न नसक्दा डीएसपी कुँवरमाथि कारबाहीका लागि सिफारिस

काठमाडौं। जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय सुरक्षित गर्न नसकेको आरोपमा सशस्त्र प्रहरी बलका डीएसपी गौतम कुँवरलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले गठन गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज कुँवरलाई कारबाही सिफारिस गरेको हो। सशस्त्र हेडक्वाटरका स्रोतले यस जानकारीलाई पुष्टि गरेका छन्।

स्रोतका अनुसार, “आफू मातहतको हथियार र कार्यालयको सुरक्षा गर्न असफल भएको देखिएपछि कारबाही सिफारिस गरिएको हो।” गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका बेला कुँवर इन्चार्ज थिए। आन्दोलनकारीले उनको कार्यालयमा रहेका १४ थान एसएलआर हतियार जलाएको बताइएको छ।

अन्य सुरक्षा बेसमा हतियार वा कार्यालयमा क्षति नभएकोले अन्य कमान्डरहरू कारबाही सिफारिसको सूचीमा परेका छैनन्। स्रोतले भने, कारबाही सिफारिस भए पनि कस्तो प्रकारको कारबाही लागू हुने भन्ने विषय अहिलेसम्म सार्वजनिक गरिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *