राजनीति

रास्वपा–विवेकशील एकताः ‘शून्य शर्त’को कथा कि विचारहीन आत्मसमर्पण ?

काठमाडौं ।वैकल्पिक राजनीति गर्ने र पुरानै दलझैं नचालिने बाचा गर्दै अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्ततः आइतबार विवेकशील साझासँग ‘निस्शर्त एकता’ मा पुग्यो। तर यो एकता उत्साहभन्दा धेरै प्रश्न बोकेर आएको छ—रास्वपाको पुरानै अडान कहाँ हरायो ? विवेकशीलको वैचारिक विरासत के बच्यो ?नेतृत्वको दिशा अब ‘नयाँ’ कि पुरानै शैलीको निरन्तरता ?

विवेकशील–साझा आफ्नो अभियान, विचार र छोटा नागरिक आन्दोलनहरूका कारण ‘वैकल्पिक सोच’ को प्रतीक मानिन्थ्यो। रास्वपा मत, जनउत्साह र संगठनको तीव्र उभार लिएर आएको दल हो। एकको विरासत, अर्काको वर्तमान शक्ति—तर एकता भने कुनै पनि शर्तबिनै। नेतृ रञ्जु दर्शनाले “निस्शर्त भनेको पद–अधिकार–सिट नमाग्नु” बताइन्। तर आलोचकहरूको प्रश्न सरल छ—वैकल्पिक राजनीति के यति सहज, यति नै अनौपचारिक सम्झौतामा अडिन्छ ? वैकल्पिक आन्दोलनका संस्थापक उज्वल थापाको नाम सहमतिमा समावेश भए पनि विवेकशील साझाका धेरै नेताहरू यो एकता प्रक्रियाबाट टाढिन पुगे।

पूर्वअध्यक्ष सरोज भण्डारी,मिलन पाण्डे,युजन राजभण्डारी र रमेश पौड्याललगायतले एकतालाई आत्मसमर्पणका रूपमा लिएका छन्। मिलन पाण्डे त खुलेरै भन्छन्—“उहाँहरू वैकल्पिक शक्ति बन्न सकून्, शुभकामना छ।” तर आफू ‘नयाँ विकल्प’ खोज्दै मौन बस्ने घोषणा गरे। यो नै मुख्य प्रश्न उठाउँछ—विवेकशील साझाले आफ्नो वैचारिक पहिचान बचायो कि बस रास्वपाको संगठनात्मक भारीले दबियो ?

रास्वपाको ‘कोहीसँग एकता नगर्ने’ अडान कहाँ हरायो ?

रास्वपा सभापति रवि लामिछानेले गठनदेखि नै दोहो¥याउँदै आएको अडान— “रास्वपा कोही दलसँग एकता वा गठबन्धन गर्दैन”—जेनजी आन्दोलनपछि, सत्ता समीकरण फेरिएपछि र आगामी चुनाव नजिकिँदै गर्दा पूरी उल्टो मोड लिएको देखियो। विश्लेषकहरूको दृष्टिमा,वैचारिक स्पष्टता,दीर्घकालीन रणनीति,नेतृत्वको उत्तरदायित्व,यी तीनै कुरा रास्वपामा अझै स्थिर छैनन्।यस्तै निर्मूल अस्पष्टतामा भएको एकता—“निस्शर्त”—भन्नु यथार्थमा नेतृत्वको ‘चेक एण्ड ब्यालेन्स’ हटाउने निम्तो जस्तै हो।

नेपालको राजनीतिक वातावरण जेनजी आन्दोलनपछि हल्लिएको छ। तर रास्वपा–विवेकशीलको एकता यस बदलिएको वातावरणमा रणनीतिक अवसरवाद कि वैकल्पिक आन्दोलनलाई बलियो बनाउने दीर्घकालीन योजना ? यो प्रश्न अझै खुल्लै छ। धेरै युवा, अभियन्ता र विश्लेषकहरू भन्छन्—“यो एकता वैकल्पिक शक्तिहरू एकताबद्ध हुनुको सुरुवात होइन, ध्रुवीकरण र समूहबन्दीको सुरुवात हो।”

रास्वपा सभापति रवि लामिछाने अहिले सहकारी गठी प्रकरणमा अहिले कारागारमा छन् । विगतमा रास्वपाका केही नेताहरुले सधैँ सहकारी गठीमा मुछिएका आफ्ना सभापतिको स्क्रिप्ट पढ्दा –पढ्दा अन्नत विश्वासहीन पार्टीको परिभाषा गर्दै बाहिरिए।

एकता हुँदा–हुँदै, पार्टी छाड्दै–छाड्दै : वैकल्पिक राजनीतिभित्रै अर्को बिखण्डन

रास्वपा मात्र बलियो भएको छैन, विभाजन पनि उति नै बढेको छ। प्रमुख सचेतक सन्तोष परियार, सांसद सुमना श्रेष्ठ दुवैले रास्वपा छाडेर नयाँ बाटो रोजिसकेका छन्। परियार नेतृत्वको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ भट्टराई समूहसँग गठबन्धनमा छ। यसले देखाउँछ—वैकल्पिक राजनीति नामले मात्रै एक, तर व्यवहारमा चर्को विभाजनयुक्त।

क्या अब वैकल्पिक राजनीतिमा ‘सुपर–ब्लक’ बन्ने ?

रास्वपा नेताहरू बालेन शाह, कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी जस्ता नयाँ शक्तिहरूसँग सहकार्यको संकेत गर्दैछन्।यज्ञमणि न्यौपाने त भन्छन्—“रवि–कुलमान सहकार्य नेपालका लागि ऐतिहासिक हुनेछ।” तर धेरै विश्लेषकहरूको चेतावनी—वैकल्पिक राजनीतिलाई व्यक्तित्वमा होइन, सिद्धान्तमा जोडिएन भने अर्को दशकभित्रै यो पनि पुरानै दलझैं क्षय हुन्छ। रास्वपा–विवेकशील एकता कागजी रूपमा ‘निस्शर्त’ देखिए पनि राजनीतिक रूपमा भने धेरै अनुत्तरित प्रश्न बोकेर आएको छ—विचारले एकता ? कि चुनाव व्यवस्थापन ? नेतृत्वमा रूपान्तरण ?कि व्यक्तित्व आधारित गठबन्धन ?

अहिलेको अवस्था हेर्दा वैकल्पिक राजनीति एकताबद्ध होइन, पुनः नयाँ–नयाँ खेमामा फुट्दै छ। रास्वपा–विवेकशील एकता त्यही फुटेको परिदृश्यमा एउटा ठूलो परीक्षण हो—यो वैकल्पिक राजनीति सबल बनाउने मोड हो कि पुरानै गल्ती दोहोर्याउने अर्को अध्याय ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *