राजनीति

महाधिवेशनमा खुला प्रतिस्पर्धा हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ११‍औँ महाधिवेशनमा खुला प्रतिस्पर्धा अनिवार्य हुने घोषणा गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा एमाले महाधिवेशन प्रचार समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा उनले ‘सर्वसम्मति’लाई भावनात्मक रूपमा दुरुपयोग नगरिने चेतावनी दिए। ओलीले स्पष्ट भने—“सर्वसम्मति भनेको कसैलाई रोक्ने काम होइन। रोकथाम, सोकथाम हुँदैन। प्रतिस्पर्धा हुन्छ। लोकतन्त्र छैन, चुनाव लड्न दिएन भनेर पछि नबोलून्।” अध्यक्ष ओलीले गुटीय टिप्पणी, एकअर्कामाथि होच्याउने प्रवृत्ति रोक्न आग्रह गर्दै केन्द्रीय सदस्यहरूको सार्वभौमिक अधिकारलाई कसैले रोक्न नसक्ने उल्लेख गरे।

 

महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका १९० महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको विवादले पार्टीभित्रको वास्तविक समीकरण झनै स्पष्ट पारेको छ। रोल्पा बाहेक ११ जिल्लामा प्रक्रिया समाप्त भए पनि सर्वसम्मति भनेर पेश गरिएका धेरै निर्णयहरू नै विवादका कारण केन्द्रमा उजुरी परेको छ। प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले “सबै सहज” भएको दाबी गरे पनि स्थानीय संगठनका कार्यकर्ताहरू भिन्न चित्र देखाउँछन्।

स्थापना–इतर नेताहरूका अनुसार प्रक्रिया फेरि केन्द्रकै आदेशले परिवर्तन हुने” सम्भावनाले उनीहरू आशंकित छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठन र पुस्तान्तरणको माग बढ्दै गएको स्वीकार्दै भने—“महाधिवेशन त्यहीका लागि हो—नेतृत्व चुनिन, प्रतिस्पर्धा होस्, र पार्टी एकतामा अघि बढोस्।” तर लुम्बिनीका विवाद र प्रतिनिधि छनोटमा देखिएको अविश्वासले संकेत गरिरहेको छ— आगामी महाधिवेशन एमालेका लागि केवल नेतृत्व चयन मात्र होइन, भित्रछिपेको असन्तोष व्यवस्थापन गर्ने कठोर परीक्षा पनि बन्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *