देश

नेपाली काँग्रेसको महाधिवेशन विवाद समाधानतर्फ

काठमाडौँ। नेपाली काँग्रेसमा महिनौँदेखि चर्किरहेको महाधिवेशन विवाद अन्ततः समाधानतर्फ उन्मुख भएको छ । उपचारपछि स्वदेश फर्किए लगत्तै सभापति शेरबहादुर देउवाले सहमतिको पहल तीव्र पारेसँगै पार्टी नियमित महाधिवेशनको बाटोमा अघि बढेको हो ।

विशेष महाधिवेशनको माग उठाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अडान कमजोर हुँदै गएको र पुसभित्रै नियमित महाधिवेशन गर्ने तयारी सुरु भएको काँग्रेस नेताहरू बताउँछन् । देउवाले शुक्रवार शीर्ष नेताहरूसँग छलफल गर्दै चुनावअघि विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्‍याउन सक्ने भएकाले नियमित महाधिवेशन नै व्यावहारिक विकल्प भएको निष्कर्ष निकालेका छन् ।

डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनको पक्षमा उभिएपछि विशेष महाधिवेशनको माग झनै कमजोर बनेको छ । यही नयाँ समीकरणले गगन–विश्वप्रकाश पक्ष अल्पमतमा परेको देखिन्छ ।

पार्टीको पुसभित्र नियमित महाधिवेशन गर्ने तयारीसँगै विशेष मागसहित हस्ताक्षर गरेका नेताहरूलाई संस्थापन पक्षले फिर्ता ल्याउने निर्णय पनि भएको छ । कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले सर्वसम्मत सहमति नभएसम्म केन्द्रीय कार्यसमिति नबस्ने स्पष्ट पार्दै बैठक सार्ने स्थिति देखाएका छन् ।

चार वर्षअघि सम्पन्न १४ औँ महाधिवेशनले तोकेको पार्टी नेतृत्वको कार्यकाल मंसिर ९ गते समाप्त भइसकेको छ । पार्टी विधान अनुसार विशेष अवस्थामा महाधिवेशन एक वर्षसम्म ढिला गर्न सकिन्छ भने ९० दिनभित्र अधिवेशन डाक्नुपर्ने प्रबन्ध छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *