राजनीति

नियमित महाधिवेशनको उल्लंघन गर्दै संस्थापनइतर समुह

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाले गरेको पछिल्लोपटकको पहलमा संस्थापनइतर समुह पासो थाप्ने रणनीतिमा देखिएको छ । कांग्रेस संस्थापन समुहले नियमित महाधिवेशनलाई प्राथमिकता दिनुपर्ने अडानमा रहेको बेला संस्थापनइतरसमुह भने विशेषमहाधिवेशन नै अनिवार्य भन्दै धराप थाप्न व्यस्त बनेको देखिन्छ । शुक्रबार देउवा निवासमा बसेको बैठकले कुनै सहमति जन्माउन नसक्दै अन्त्य भएपछि अब संस्थापन र संस्थापनइतर दुवै धारभित्र छुट्टाछुट्टै मत विकसित हुँदै गएको प्रष्ट देखिन थालेको छ।

संस्थापन नियमित महाधिवेशनको पक्षमा, इतर समूह विशेष महाधिवेशनमै अडिग

बैठकमा नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विवाद समाधान गर्ने देउवाको प्रस्ताव संस्थापनइतर समूहले सहज रूपमा स्वीकारेन। बरु, विशेष महाधिवेशन मागसहित हस्ताक्षर बुझाएका नेताहरू आफ्नो प्रस्ताव फिर्ता नहुनेमा अझै अडान कडा बनाउँदै गएको देखियो।

शुक्रबारको छलफलमा सहभागी एक नेताका अनुसार नियमित महाधिवेशनको तालिका प्रस्तुत गर्ने विषयमा संस्थापन पक्षकै विचार विभाजित भएपछि त्यसको असर संस्थापनइतर समूहमा पनि पर्‍यो। देउवाले दिउँसो १ बजेका लागि बैठक बोलाए पनि छलफल पौने तीन बजे मात्र सुरु भयो। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, धनराज गुरुङ, महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा, तथा विमलेन्द्र निधि, कृष्ण सिटौला, रमेश लेखक र बालकृष्ण खाँण सहभागी थिए।

बैठकमा—संस्थापन पक्ष पुसमै नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने मतमा छ । तर संस्थापनइतरको एक भाग नियमित महाधिवेशन नै समाधान भएको दाबी गरिरहेको बेला इतरसमुहकै अर्को धार विशेषमहाधिवेशनको लाइनमा छन् ।महामन्त्री थापा पक्ष नियमित महाधिवेशनको तालिका आउँदा पनि विशेष महाधिवेशन प्रस्ताव फिर्ता नहुने अडानमा छन् । यो कुरा विश्लेषण गर्दा संस्थापनपक्षलाई पेलेर जाने लाइनमा युवा महामन्त्रीहरु छन् । के यो उचित हो ? सबैले प्रश्न गर्न थालेका छन् ।

महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नसक्ने स्पष्ट गर्दै नियमित महाधिवेशनको तालिका मात्रै ल्याएर विवाद समाधान हुँदैन भने। उनले पुसभित्रै महाधिवेशन गर्न सकिने समयरेखा नआए पार्टी थप संकटमा जाने विश्लेषण गरिएको छ । निधि र सिटौलाले अहिलेको प्रतिनिधिसभा निर्वाचन सामान्य नभएको, संविधान र लोकतन्त्रलाई ‘ट्रयाकमा फर्काउने’ असाधारण चुनाव भएकाले कांग्रेसले आन्तरिक विवाद बढाउनु घातक हुने तर्क गरे। उनीहरूका अनुसार— अहिले पार्टीभित्रको लडाइँ लोकतन्त्रसमेत कमजोर पार्न सक्छ।

चुनावपछि समझदारीमै महाधिवेशन गर्न सक्छ, तर अहिले हतार गर्नु अनुचित। पार्टी बलियो भएपछि नेतृत्व कसले लिन्छ भन्ने ठूलो कुरा होइन। विवाद घट्ने होइन, बढ्दै जाने संकेत । शुक्रबारको बैठकले संस्थापन र संस्थापनइतर दुवै समूहभित्र मतभेद झन् गहिरिँदै गएको स्पष्ट देखायो। अब–देउवाले बोलाएको शनिबारको बैठक निर्णायक बन्ने देखिएको छ । तर यसअघिका सबै बैठकजस्तै निष्कर्षविहीन हुने सम्भावना उस्तै देखिएको छ । नियमित महाधिवेशनको बाटो लिन खोज्ने संस्थापन र विशेष महाधिवेशन माग्ने इतर समूहबीच सहमतिको दूरी झन् बढ्दै गएकाले कांग्रेसभित्रको विवाद चाँडै समाधान नहुने संकेत प्रस्ट हुँदै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *