काठमाडौं। नेकपा एमालेका सात पदाधिकारीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका छन्।
शुक्रबार सम्पन्न अनौपचारिक छलफलमा उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, साथै सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल सहभागी थिए।
नेताहरूले मुलुकको वर्तमान राजनीतिक चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकता औँल्याएका छन्। उनीहरूले सबै पार्टी संरचना र कार्यकर्ताहरूलाई संगठन एकता र आन्तरिक समन्वयमा योगदान पुर्याउन आग्रह गरेका छन्।
साथै, एघारौं राष्ट्रिय महाधिवेशनका निर्णयअनुसार अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रलाई सही दिशातर्फ अघि बढाउन सक्षम केन्द्रीय कमिटी गठन गर्नु अहिलेको आवश्यकता रहेको नेताहरूले बताएका छन्।
पार्टीभित्रको स्थायित्व, एकता र प्रभावकारी नेतृत्वमार्फत देशलाई सामना रहेका चुनौती समाधान गर्न सकिने विश्वास पनि नेताहरूले व्यक्त गरेका छन्।




