राजनीति

पार्टीको विवाद समाधानका लागि सभापति देउवा सक्रिय, चाँडै निकास निकाल्ने अपेक्षा

काठमाडौं । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको समस्या समाधानको बाटो बनाउन नसकेपछि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय रुपमा छलफल र बहसमा जुटेका छन् । जेनजी आन्दोलनपछि पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा फरक –फरक मत सार्वजनिक हुँदै पार्टीभित्रको विवाद चर्किएपछि सो विवादलाई सहमती र सहकार्यको माध्यमबाट निकास निकाल्ने लाइनमा सभापति देउवा सक्रिय रुपमा छलफलमा जुटेका हुन् । कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरेपछि संकल्ति हस्ताक्षरका विषयमा समेत वैधानिकता बारे प्रश्न चिह्न खडा भएको छ ।

कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा एकै किसिमको धारणा सार्वजनिक गराउन सभापति देउवा सक्रिय रूपमा अघि बढेका हुन् । सभापति देउवाले उपचारका क्रममा सिंगापुर जानुअघि नै कांग्रेसभित्र कुनै विवाद नबढाउन र एकताको विषयलाई समेत ध्यानमा राखेर अघि बढ्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । तर कांग्रेस संस्थापनइतर समुहका नेता तथा कार्यकर्ताहरुले उनीहरुको कम्जोरी आफ्नो टाउकोमा बिसाउन खोजेपछि सभापति देउवाले मौन रुपमा प्रतिकार गर्दै आएका छन् । मौन रहेका सभापति देउवालाई उनीहरुले गरेको गतिविधि भने पटक्कै मन परेकाे छैन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर केही समय पछाडि बसेजस्तो देखिए पनि, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रत्यक्ष हस्तक्षेपको आग्रह गरेपछि देउवा पुनः फ्रन्टलाइनमा उत्रिएका हुन्।

संस्थापन पक्षका केही नेताले कार्यवाहक पद फिर्ता लिएर देउवाले आफैँ केन्द्रीय समिति बैठक संचालन गर्नुपर्ने माग राखे पनि उनले यो प्रस्ताव स्वीकारेका नस्वीकारेको स्रोतको भनाइ छ ।यद्यपि उनले अनौपचारिक भेटघाटलाई जारी राख्दै औपचारिक संवादका लागि का.वा सभापति खड्कालाई विम्मेवारी दिएका थिए ।

का.वा सभापति खड्काले बिहीबार (मंसिर १०) मा पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिका ल्याएर विशेष महाधिवेशन पक्षधरहरूलाई फिर्त्याउन सकिने प्रस्ताब राख्दै देउवालाई ब्रिफिङ गरेका थिए। यही तयारीसँगै देउवाले साँझ महामन्त्रीद्वय थापा–शर्मालाई महाराजगञ्जमा बोलाएर छलफल गरे। तर बैठक सकारात्मक रुपमा अघि बढ्न सकेन। महामन्त्रीद्वय बैठकबाट ‘विशेष महाधिवेशन रोक्ने अवस्था छैन’ भन्ने निष्कर्षसहित बाहिरिएका थिए।

शुक्रबार (मंसिर ११) देउवाले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा–शर्मा र संस्थापन पक्षका चर्चित ‘सात भाइ’लाई महाराजगञ्जमा बोलाएर विस्तारित छलफल थालेका छन्। रमेश लेखकसहित केही केन्द्रीय सदस्य पनि छलफलमा सहभागी भएका छन्।
यो बैठकलाई पार्टीभित्र बढ्दो अविश्वास, टकराव र ध्रुवीकरण अन्त्यतर्फ देउवाले गरेका पहिलो ठूलो प्रयासको रूपमा हेरिएको छ।

कांग्रेसभित्र अहिले संस्थापनइतर समुह महामन्त्रीद्वयको विशेष महाधिवेशनको अडानमा र कांग्रेस संस्थापन समूहको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने धारणा राख्दै आएका छन् । यी ध्रुवबीचको दूरी बढ्दै गएपछि देउवा स्वयम् सक्रिय भएर ‘सम्झौतात्मक मार्ग’ खोज्ने प्रयासमा जुटेका छन्। तर महाधिवेशनको समय, प्रक्रियागत विवाद र शक्ति समीकरणका कारण पार्टीभित्र स्पष्ट ‘निकास’ कहिले र कसरी निस्कने हो भन्ने अनिश्चिततामाथि सभापति देउवाको सक्रियताले चाडैँ निकास निकाल्ने अपक्षा रहेको कांग्रेस नेता तथा कार्यकर्ताहरुले बताउन थालेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *