काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले आगामी चुनावी तयारी र राजनीतिक सहकार्यका विषयमा नेकपा एमालेका शीर्ष नेतासँग बालुवाटारमा छलफल सुरु गरेकी छन्। अहिले प्रधानमन्त्री र एमाले प्रतिनिधिमण्डलबीचको वार्ता जारी छ।
एमालेतर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभाग छन्। प्रधानमन्त्री पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल बैठकमा उपस्थित छन्।
प्रधानमन्त्री कार्कीले देशमा चुनाव अनुकूल वातावरण बनाउन दलहरूसँग संवादको श्रृंखला थालेको उनको सचिवालयले जनाएको छ। यता एमाले भने संसद पुनर्स्थापनाको माग राख्दै अदालतदेखि सडकसम्म दबाबमूलक आन्दोलन गर्दै आएको छ, जसका कारण सरकार–एमाले सम्बन्धमा राजनीतिक तनाव देखिएको छ।
आजको भेटवार्ताबाट चुनावी प्रक्रिया अघि बढाउन आवश्यक सहमति खोजिने अपेक्षा गरिएको छ।




