जलश्रोत/उर्जा

नेपाल–बंगलादेश ऊर्जा सहकार्यमा नयाँ छलाङ : थप २० मेगावाट विद्युत निर्यात गर्न सहमति

काठमाडौं। नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य विस्तारका लागि भएको सातौँ सचिवस्तरीय संयुक्त समिति बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने निर्णय गरेको छ। ढाकामा मंसिर ११ गते सम्पन्न बैठकपछि अब बंगलादेशले नेपालबाट आयात गर्ने विद्युत मात्रा ४० मेगावाटबाट ६० मेगावाटमा पुग्ने छ। बैठकको सहअध्यक्षता नेपालका ऊर्जा सचिव चरणजीवी चटौत र बंगलादेशकी विद्युत तथा ऊर्जा सचिव फरहानाज ममतले संयुक्त रूपमा गरेका थिए। यसअघि मंसिर १० गते भएको प्रारम्भिक बैठकमा उठाइएका प्रस्तावहरूमा विस्तृत छलफल गर्दै दुवै देशले दीर्घकालीन ऊर्जा सहकार्यका लागि महत्वपूर्ण प्रतिवद्धता जनाएका हुन्।

सुनकोशी–३ मा बंगलादेशको चासो तीव्र, विशेषज्ञ समिति गठन

ऊर्जा साझेदारीमा प्रमुख परियोजना मानिएको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अघि बढाउन बंगलादेशले चाँडै नै विशेषज्ञ समिति गठन गर्ने बताइएको छ। समिति गठनपछि परियोजनाको मूल्यांकन र संयुक्त लगानी संरचना छिटो टुंग्याइने निर्णय भएको बैठकले जनाएको छ।

क्षेत्रीय ऊर्जा विनिमयका लागि त्रिपक्षीय सम्भाव्यता अध्ययन

नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय विद्युत व्यापारलाई संस्थागत बनाउन सम्भाव्यता अध्ययन अघि बढाउने सहमति पनि बैठकको महत्वपूर्ण निष्कर्ष हो। विशेषतः नेपालबाट भारत हुँदै बंगलादेशका—बरापुकारिया,पञ्चगढ ,ठाकुरगञ्ज भेरामारा र कोसमलला जस्ता सबस्टेसनसम्म ऊर्जा प्रवाहको सम्भाव्यता प्राविधिक रूपमा अध्ययन गरिने छ। दुवै देशले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी सम्झौताका लागि आन्तरिक तयारी पूरा गरी चाँडै हस्ताक्षर गर्नेछन्। यसको अन्तरगत बंगलादेशले नेपाललाई—ऊर्जा संरक्षण,इभी चार्जिङ प्रविधि,रूफटप सौर्य प्रविधि लगायत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ।

नेपाल र बंगलादेशबीच क्षमतावृद्धि तथा तालिम कार्यक्रम सुरु गर्ने सहमति पनि भएको छ। पहिलो चरणका तालिमहरू काठमाडौंमा सञ्चालन गरिनेछ भने दोस्रो चरण बंगलादेशमा हुने बैठकले जनाएको छ।

बैठकका प्रमुख सहमति यस्ता छन् :

  • नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात, प्रक्रिया शीघ्र पूरा गर्ने।
  • सुनकोशी–३ मा लगानी मूल्यांकनका लागि बंगलादेशले विशेषज्ञ समिति गठन गर्ने।
  • त्रिपक्षीय ऊर्जा आदान–प्रदानको सम्भाव्यता अध्ययन संयुक्त रूपमा अघि बढाउने।
  • नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी सम्झौतामा दुवै देशले हस्ताक्षर गर्ने।
  • संयुक्त क्षमता अभिवृद्धि कार्यक्रम नेपाल र बंगलादेशमा चरणबद्ध सञ्चालन।
  • त्रिपक्षीय ऊर्जा सहकार्यसम्बन्धी सम्झौतामा भारतको सहमति जुटाउन संयुक्त पहल गर्ने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *