राजनीति

सभापति देउवाको नेतृत्वमा कांग्रेस संस्थापनपक्षको बैठक जारी, समसामयिक विषयमा छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षको बैठकमा संस्थापनका पक्षका नेताहरुसंग छलफल जारी राखेका छन् । कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवाद चुलिँदै जाँदा पार्टीको संस्थापन समूह सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष छलफलमा जुटेका हुन् । देउवा बसेको महाराजगन्जस्थित निवासमा शीर्ष नेताहरू सहभागी रहेर निरन्तर परामर्श चलिरहेको कांग्रेस स्रोतले बताएको छ। देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा. प्रकाशरण महतलगायत सहभागी छन्। देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

पार्टीभित्र महाधिवेशन कहिले र कसरी गर्ने भन्ने प्रश्न निकै तीक्ष्ण बनेका बेला संस्थापन समूहले चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने अडान बलियो रूपमा अघि सारेको छ। यसै क्रममा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जोड दिइरहेका छन् भने नेता डा. शेखर कोइराला चाहिँ चुनावअघि नियमित महाधिवेशन को पक्षमा उभिएका छन्।

शेखर कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्तासमेत डाकेर नियमित महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्। उनका अनुसार विशेष महाधिवेशन कुनै हालतमा आवश्यक परे मात्र केन्द्रीय समितिकै निर्णयमा हुनुपर्छ। यता, कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशन ‘अनिवार्य रूपमा रोक्नुपर्ने’ धारणा राख्दै पुस मसान्तभित्रै विकल्पसहितको कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन्। तर संस्थापन पक्षको तर्क फरक छ—महाधिवेशन वा चुनाव, दुवै एउटै समयमा सम्भव छैन, र यदि कसैले विशेष महाधिवेशनका लागि दबाब दिनै चाहन्छ भने त्यसको राजनीतिक जिम्मेवारी पनि उनीहरूकै हुने चेतावनी दिइएको छ।

यो शक्ति–संघर्ष बढ्दै गएपछि पार्टी फुटको आशंका समेत सतहमा आउन थालेको कांग्रेस स्रोत बताउँछ। सभापति देउवा भने सामान्यतया ‘चुनावअघि महाधिवेशनले आन्तरिक लडाइँ बढाउँछ र पार्टी चुनावी रूपमा कमजोर पर्छ’ भन्ने मतमा रहेका छन्। भने पनि, उनले पार्टीको भावी नेतृत्वले नै अन्तिम निर्णय गर्नुपर्ने भन्दै— “यदि नेतृत्वले महाधिवेशन अघि गर्नैपर्छ भन्छ भने म त्यसविरुद्ध उभिन्न”— भन्ने लचकता देखाएका छन्। नेपाली कांग्रेसको नेतृत्व–प्रक्रियाबारे टुङ्गो नलागेसम्म पार्टीभित्रको तानातान बढ्दै जाने संकेत देखिएको छ।

जेनजी आन्दोलनपछि संकटको मोडमा दुबै पक्षले मध्यममार्गी ढङबाट अघि बढ्दै सहमति एकताको सन्देश लिएर अघि बढ्नु नै उचित विषय हो । कांग्रेसलाई एकतासहितको कांग्रेस बनाउने अभियानमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *