काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले पदबहालीसँगै आगामी कार्यकालका लागि २५ बुँदे प्राथमिकतासहितको विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले सबैभन्दा पहिला २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘राष्ट्रको मुख्य कार्य’ भन्दै त्यसलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्।
मन्त्रालयका सचिव र विभिन्न निकायका प्रतिनिधिहरूसँगको भेट दौरान मुख्यसचिव अर्यालले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सम्पूर्ण प्रशासनिक संयन्त्र तत्पर रहनुपर्ने बताए। उनका अनुसार, निर्वाचनको सफलताका लागि निजामती सेवा, सेना, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागबीच गहिरो समन्वय आवश्यक छ।
दोस्रो महत्वपूर्ण प्राथमिकतामा उनले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था निर्माणलाई राखेका छन्। उनका अनुसार, सरकारसमक्ष अहिले सबैभन्दा ठूलो चुनौती सुशासनपूर्ण प्रशासनिक संरचना उभ्याउने र जनतामा विश्वास पुनःस्थापित गर्ने हो।
मुख्यसचिव अर्यालले जेनजी आन्दोलनले उठाएका मागलाई सम्झँदै प्रशासनलाई समयअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “२३ र २४ भदौको आन्दोलनले असल, पारदर्शी र उत्तरदायी शासनको माग गरेको छ। त्यसैले प्रशासन जनमुखी, सदाचारयुक्त र डिजिटल प्रणालीमा आधारित हुनै पर्छ।”
अर्यालले नेतृत्व तहबाटै सुधारको पहल गर्ने बताएका छन्, जसले प्रशासनलाई नतिजामुखी, व्यवस्थित र जनउत्तरदायी दिशातर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।
२५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले अन्त्यमा भने, “सरकारका काँधमा रहेका यी दुई प्रमुख जिम्मेवारी—स्वच्छ निर्वाचन र सुशासन—पुरा गर्न समग्र प्रशासनिक संयन्त्र सक्रिय र जिम्मेवार बन्नुपर्ने समय यही हो।”




