काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वमहामन्त्री किरण राज शर्मा पौडेलले पार्टीभित्र चलिरहेको ‘विशेष महाधिवेशन’ सम्बन्धी बहसलाई असम्भव र अनावश्यक भन्दै त्यसबारे कुनै परिस्थितिमा पनि विशेष महाधिवेशन नहुने स्पष्ट अभिव्यक्ति दिएका छन्।
पौडेलका अनुसार कांग्रेसको हित नियमित महाधिवेशनबाटै सुरक्षित हुन्छ, विशेष महाधिवेशनको बाटोले होइन। उनले युवा पुस्तालाई वार्ड तहदेखि सहभागी गराउँदै पार्टीको १५औँ महाधिवेशन निर्धारित प्रक्रियाअनुसार सम्पन्न गर्नुपर्नेमा जोड दिए।
उनले भने, “२०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मात्रै गणतान्त्रिक संविधान सुरक्षित रहन्छ। लोकतन्त्र जोगाउनु हामी सबैको सामूहिक जिम्मेवारी हो।” पौडेलले पार्टी विधानका प्रावधानहरू उद्धृत गर्दै विशेष महाधिवेशनले सभापतिलाई हटाउने व्यवस्था विधानमा कतै नभएको स्पष्ट पारे ।
विधान अनुसार—धारा २६ ले केवल सभापतिको राजीनामा स्वीकृत भएको अवस्थामा मात्र ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको, र धारा ४४ अनुसार अविश्वास प्रस्ताव पारित भएपछि मात्र पदाधिकारी हटाउन सकिने उल्लेख छ।
उनका अनुसार यसका लागि आवश्यक नियमावली र कार्यविधि पनि तयार भइसकेका छैनन्। पार्टीले हालैको केन्द्रीय कार्यसमिति बैठकमार्फत २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा भाग लिने निर्णय गरिसकेको उल्लेख गर्दै पौडेलले अब कांग्रेस विशेष महाधिवेशनको विवादमा फस्नु नहुने धारणा राखे। अन्त्यमा, उनले महासचिवहरूलाई आफूहरूले अघि सारेको विशेष महाधिवेशनको माग फिर्ता लिन आग्रह गर्दै, “विशेष महाधिवेशन हुँदैन,” भनेर आफ्नो भनाइ दोहोर्याए।




