काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभरका विश्वविद्यालयलाई स्वायत्त बनाएर सञ्चालन गर्नुपर्ने आवश्यकता पुनः दोहोर्याएकी छन्। त्रिभुवन विश्वविद्यालयको सभामा सम्बोधन गर्दै उनले एकै व्यक्ति—प्रधानमन्त्रीले—देशका सबै विश्वविद्यालयको जिम्मेवारी बोकेर हिँड्नु न त व्यवहारिक न त दीर्घकालीन समाधान हुने स्पष्ट रूपमा बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन। स्वायत्तताको कुरा धेरैपटक उठेको छ, अब कार्यान्वयन हुने बेला आएको छ।” उनको भनाइमा, कुलपति चयन प्रक्रिया पनि राजनीतिक प्रभावभन्दा बाहिर हुनु आवश्यक छ। “१९ वटा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ। एउटै व्यक्तिले कसरी सम्भाल्नेरु कुलपति विज्ञमार्फत छानिएको राम्रो—सभाले आफैं चयन गरोस्,” उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीका अनुसार विश्वविद्यालयले आफ्नै कार्यक्रम स्वतन्त्र रूपमा बनाउन पाउनुपर्छ, आर्जन गर्ने क्षमता बढाउनुपर्छ तर आवश्यक परे राज्यले अनुदानमार्फत सहयोग गर्ने भूमिका कायम रहनुपर्छ। कार्यक्रममा उनले आफू ६ महिनाको संक्रमणकालीन जिम्मेवारीका लागि मात्र सरकारमा आएको उल्लेख गर्दै विश्वविद्यालय सुधारलाई प्राथमिकतामा राखिने आश्वासन पनि दिइन्।




