राजनीति

एमाले महाधिवेशन उद्घाटन सत्र भक्तपुरमा, बन्द सत्र भृकुटीमण्डपमै

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन स्थल परिवर्तन गर्दै भक्तपुरको सल्लाघारीस्थित खुलाचौरलाई अन्तिम रूपले तय गरिएको छ। भृकुटीमण्डपमा आवश्यक ठाउँ अभाव भएपछि महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले उद्घाटन कार्यक्रम भक्तपुर सार्ने निर्णय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २७ गते हुने उद्घाटन समारोहको तयारी तीव्र गतिमा अघि बढाइएका छन्। उनका अनुसार, भृकुटीमण्डपमा उद्घाटन सत्र समाउन कठिन हुने देखिएपछि विकल्पका रूपमा सल्लाघारी छनोट गरिएको हो।

यसैबीच, महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै सञ्चालन गरिनेछ। महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालय समितिले आवश्यक व्यवस्थापन र सुरक्षा तयारीबारे पनि निर्देशना दिएको बैठक स्रोतले बताएको छ।

बैठकले यसपटकको महाधिवेशनको मुख्य नारा समेत सार्वजनिक गरेको छ—निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प ः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’। उद्घाटन र बन्दसत्र फरक स्थानमा हुने निर्णयसँगै एमालेलाई आवश्यक व्यवस्थापन, भीड व्यवस्थापन तथा सुरक्षा संयोजनमा नयाँ चुनौती पनि थपिएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *