काठमाडौं । गत भदौ २३ र २४ गतेको देशमा भएको विध्वंशकारी आन्दोलनबाट जन्मिएको आन्दोलन केही दिन शान्त बनेको थियो । केहीसमयको अन्तरिम सरकारको कार्यशैली देखेर सोही समुहरु पुनः सडकदेखि सिंहदरबारमा बिहान बेलुका धाउन थालेका छन् । सरकारको पारदर्शिता,नेतृत्व चयन,जेनजी आन्दोलनलाई परिभाषा र भ्रष्ट्राचारिहरुमाथि तत्काल कदम चाल्न नसकेको उनीहरुको गुनासो रहेको रहेको छ ।
जेनजी समुहरु अहिलेसम्म एकिकृत हुन सकेका छैनन् । एकपछि अर्को समुह गठन ,नारा,प्रदर्शन धाकधम्कीमा लागेपछि अहिले सरकारले उनीहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ । प्रहरीमाथि गालीग्लोज ढुङ्गामुढा प्रहार लगायतका अनैतिकर गैरकानुनी कार्यमा संलग्न लागेको प्रष्टै भिडियोहरु सामाजिक संजालमा बाहिरिएपछि सरकारले उनीहरुको गलत नियतिमाथि प्रश्न चिह्न खडा गर्दै सिंहदरबारमा लोक लगाएको हो । अहिले सिंहदरबार वरिपरि देखिन थालेका दृश्यले त्यही आन्दोलनको विखण्डन, स्वार्थीकरण र नेतृत्वहीनता प्रष्ट देखाएको छ । पछिल्ला दिनहरूमा एकपछि अर्को नामका जेनजी समूह सतहमा आएर सरकारमाथि दबाब जस्तै, प्रदर्शनको नाममा रमिता मात्र सृजना गर्न थालेको आरोप बढ्दै गइरहेको छ।
जेनजीको उद्देश्य–उपलब्धि कहाँ हरायो ?
जेनजी आन्दोलनको प्रारम्भिक मोडेल थियो— व्यवस्था परिवर्तन, भ्रष्टाचारविरुद्ध स्पष्टरूपमा उभिने युवा शक्ति। तर अहिले सिंहदरबारमा देखिने समूहहरूको उदेश्यचाहिँ बिचित्र रूपमा भिन्न छ ,कसैले संविधान खारेजी माग्दै प्रधानमन्त्रीलाई भेट्न खोज्छ,कसैले प्रत्यक्ष कार्यकारी,कसैले पुरानै व्यवस्था पुनर्स्थापना, अनि कुनै समूहको फोकस भने ‘पद–नियुक्ति’ को भित्री राजनीति देखिन्छ। जेनजीको नाममा बनेका थरीथरीका समूहहरूले आन्दोलनको उद्देश्यभन्दा व्यक्तिगत एजेन्डा अगाडि बढाएको सरकारी अधिकारीहरू बताउँछन्।
सिंहदरबारमा पछिल्ला दिन देखिएका घटनाले जेनजी समूहहरूको अव्यवस्थित चरित्र देखाउँछ—गेटमै रोकिनेहरू – मिराज ढुंगानाको समूह मागपत्र बोकेर पुगे पनि प्रहरीद्वारा रोकिन्छ। प्रतीक्षा हलमै हुलहुज्जत गर्नेहरू – अर्को समूह मन्त्रीमाथि जाइ लाग्ने गरेका छन् । मागपत्र खल्तीमै राखेर फर्किनेहरू – सुधन गुरुङ नेतृत्वको समूह प्रधानमन्त्री भेट्न नसकेपछि आन्दोलनको चेतावनीमा प्रदर्शनमा उर्तिएका छन् । प्रदर्शनमा उर्तिएपछि सिंहदरबारको मूलद्वार तथा आन्तरिक क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ।
तीनै समूहको उद्देश्य एउटै— प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण— तर शैली र एजेन्डा फरक–फरक। यही अव्यवस्थित गतिविधिलाई सिंहदरबारका कर्मचारीहरूले “जेनजीको रमिता” भनेर वर्णन गर्छन्। प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला महिनामा सबै जेनजी समूहलाई भेट्ने समय नभएको भनेपछि अन्तरिम सरकारप्रति आन्दोलनकारीहरु असन्तुष्ट बनेका छन् ।
कोही ‘असली’ र कोही ‘नक्कली’ जेनजी छुट्याउन नसकिने अवस्था,एकै दिन सिंहदरबारमा पाँच–छ समूहले प्रधानमन्त्री भेट्ने प्रयास गर्ने, र मागहरू बीचबिचमा एक–अर्कासँगै विरोधाभासी हुने गरेको भन्दै प्रधानमन्त्रीले उनीहरुसँग भेट्न चाहेकी छैनन् । उनीहरुले सरकारको नेतृत्व गरिरहेकामाथि विभिन्न किसिमका धाक धम्की र असभ्य भाषा बोल्दै आएपछि प्रधानमन्त्री कार्कीले उनीहरुसँग नभेटेको आंकलन भएको छ ।
प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको भनाइले अवस्थाको गम्भीरता झल्काउँछ— “जो–कोही फेसबुक खोलेर जेनजी अगुवा बनेर सिंहदरबार आउँछन्, भेट नपाएपछि लाइभ भिडिओ बनाउँछन्।”सिंहदरबारमा जेनजी समूहको अव्यवस्था मात्र देखिँदैन, उनीहरूबीचको आन्तरिक संघर्ष पनि सतहमा आएको छ। जेनजी समुहहरु पर्धापछाडीका षड्यन्त्रकारी समुहद्धारा परिचालित भएको बुझ्न सकिन्छ ।
जेनजी अभियन्ता सुप्रिया शाहीले रक्षा बम र ओजश्वी थापामाथि जेनजी आन्दोलन कब्जा गरेको आरोप लगाएकी छन्। उनका अनुसार—ओजश्वी थापा ‘हामी नेपाल’ नामक संस्थामा सुधन गुरुङका कर्मचारी हुन्, । रक्षा बम अमेरिकन युथ काउन्सिलको सदस्य भएर पनि जेनजीको नाममा हस्तक्षेप गर्दै आएको आरोप छ। यसै कारण शाहीलाई कर्णाली संयोजकबाट हटाइएको बताइन्छ। जेनजी आन्दोलनकै अगुवाहरूबीच यस्तो अविश्वास र आरोप–प्रत्यारोप बढ्दै जानु आन्दोलनको नैतिकता र जनविश्वास दुवै खुम्चिनु हो।
सरकार कडा हुँदै, जेनजी समूह आक्रोशित हुँदै
भदौ २३–२४ का घटनापछि जेनजी समूहहरू फेरि सक्रिय भएका छन्। तर सरकारको मूल्यांकन फरक छ— “जेनजीको नाममा अराजक समूह सक्रिय छन्, अब उन्मुक्ति हुँदैन।”गृहमन्त्री ओमप्रकाश अर्यालको यो भनाइपछि जेनजी समूहहरूले सामाजिक सञ्जालमा गृहमन्त्रीविरुद्ध ट्रेण्ड बनाउन थालेका छन्। मिराज ढुंगाना समूहले त संविधान खारेजीदेखि प्रत्यक्ष कार्यकारीको मागसहितको मागपत्र सिंहदरबारको भित्तामा टाँसेर प्रर्दशनमा उर्तिएको छ । ‘नेतृत्वहीनता’ र ‘विखण्डन’ ले जेनजी आन्दोलनलाई कमजोर बनाइरहेछ
आजको जेनजी दृश्यले मूल प्रश्न उठाउँछ—जेनजी आन्दोलन एकीकृत शक्ति हो कि बिखण्डित भीडरु
सिंहदरबारमा देखिने आजका दृश्यले तीन कुरा प्रष्ट पार्छ—जेनजी आन्दोलन अब एकीकृत आन्दोलन होइन,थुप्रै साना–साना समूह हुन्, जसका एजेन्डा एक–अर्कासँग मेल खाँदैनन्। नेतृत्व शून्यताले आन्दोलनलाई निरर्थक बनाउँदैछ, जसले प्रधानमन्त्री भेट्न सकेन, उसले लाइभ भिडियो बनाएर ‘असली जेनजी’ दाबी गर्छ।
आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ बढ्दैछ, नियुक्ति, प्रभाव, व्यक्तिगत पहचान, आन्तरिक राजनीति—यही जेनजीको आजको वास्तविकता। जेनजी आन्दोलन एक समय परिवर्तनको प्रतीक मानिन्थ्यो। तर अहिले सिंहदरबारको गेटअगाडि देखिने छायाँ, आरोप–प्रत्यारोप र अनियन्त्रित समूहहरूले आन्दोलनको मूल मान्यता कमजोर बनाइरहेका छन्।




