राजनीतिक वातावरण र आगामी निर्वाचन तयारीलाई ध्यानमा राख्दै तरुण दल अध्यक्ष गुरुङले सार्वजनिक गरे ७ बुँदे निर्देशन
काठमाडौं। देशको बदलिंदो राजनीतिक वातावरण र आगामी निर्वाचन तयारीलाई ध्यानमा राख्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मातहतका सबै जिल्ला कार्यसमितिलाई ७ बुँदे परिपत्र जारी गरेका छन्। यो परिपत्रले संगठन विस्तार, जेन्जी युवालाई आकर्षित गर्ने रणनीति र मतदाता सचेतनादेखि संस्थागत तयारीसम्मका विषयलाई समेटेको छ।
तरुण दलले हाल देखिएको राजनीतिक अस्थिरता र जेनजी आन्दोलनपछि बढेको युवा सक्रियतालाई आफ्नो संगठनसँग जोड्ने उद्देश्य राखेको देखिन्छ। पछिल्लो समय देशमा जेनजीको नाममा विभिन्न समुहहरु विभाजनमा रहेका छन् । ती विभाजित समुहहरुले देशको शान्ति–सुरक्षालाई चुनौती दिदैँ आएका छन् । उनीहरुले शीर्ष राजनीतिक दलरुप्रति प्रतिबन्ध लगाउने रणनीति बनाउँदै आराजकता मच्चाउन थालेपछि सरकारले उनीहरुलाई सचेत रहन आग्रह गर्दै आएको छ ।
- अध्यक्ष गुरुङको ७ बुँदे निर्देशन यस्ता छन् :
- र्याली, मार्च–पास र कोणसभा
- नागरिक समाजदेखि निर्वाचन अधिकृतसम्म समेट्ने अन्तर्क्रिया
- जेन्जी उमेरका युवालाई ‘दल प्रवेश’ अभियान
- शान्ति–अमनका लागि प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र
- मतदाता लक्षित सचेतना कार्यक्रम
- स्थानीय विकासमा तरुण दलका स्वयंसेवक परिचालन
- पूर्ण सदस्यता वितरण र पाँचौँ महाधिवेशन तयारीलाई तीव्रता
दलको पूर्ण सदस्यता वितरणलाई तीव्र बनाउने तथा जिल्ला अधिवेशन तयारी सुरु गर्ने निर्देशन दिइएको छ। तर अध्यक्ष गुरुङले स्पष्ट गरेका छन्— केन्द्रबाट सदस्यता स्वीकृत नभएसम्म अधिवेशन सुरु गर्न पाइने छैन।
विश्लेषणात्मक टिप्पणी
अध्यक्ष गुरुङको ७ बुँदे परिपत्रले तीन प्रमुख उद्देश्य प्रस्ट देखाएको छ । संगठनको पुनःउत्थान र युवालाई नियन्त्रणमा ल्याउने रणनीति, जेनजी आन्दोलनपछि विभिन्न समूहमा विभाजित युवा शक्ति पार्टीको नियन्त्रणबाहिर पुगेको मूल्यांकन तरुण दलले गरेको देखिन्छ। परिपत्रले उनै युवालाई पार्टी संरचनासँग जोड्ने प्रयास गर्दछ। निर्वाचन–केन्द्रित तयारीको सुदृढीकरण ःर्याली, अन्तर्क्रिया, मतदाता जागरण—यी सबै बुँदाले आगामी चुनावका लागि पार्टीले संगठनलाई ‘मोबिलाइज’ गर्न खोजेको सङ्केत दिन्छ।
पार्टीभित्रको आन्तरिक अनुशासन र प्रक्रियालाई मजबुत बनाउने लक्ष्य ःपूर्ण सदस्यता केन्द्रबाट स्वीकृत नभएसम्म अधिवेशन सुरु नहुने प्रष्ट निर्देशनले संगठनमा प्रक्रियागत शुद्धता कायम गर्न खोजिएको देखिन्छ। समग्रमा, यो परिपत्र तरुण दललाई युवा केन्द्रित, संघीय निर्वाचनमुखी र संगठनात्मक रूपमा सक्रिय बनाउने रणनीतिगत दस्तावेजका रूपमा देखिन्छ।




