राजनीति

कांग्रेस केन्द्रीय सदस्य गुरुङले दिए महामन्त्री थापालाई विशेष महाधिवेशन नहुने पाँच प्रमूख कारण

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले विशेष महाधिवेशनबारे महामन्त्रीद्धय गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले चलाएको विशेष महाधिवेशनका विषयमा कडा टिप्पणी गरेका छन् । विषेशगरी कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसमा सभापति देउवाको हस्ताक्षर नचल्ने,आफ्नै हस्ताक्षरमा निर्वाचन आयोग जाने,कांग्रेसको नियमित महाधिवेशन नभएर विशेष महाधिवेशन महत्वूर्ण भएको भन्दै सामाजिक संजालमा स्टाटस सार्वजनिक गर्दै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्न खोजेपछि संकटको घडीमा पार्टी एकता र शान्तिको बाटोबाट अघि बढ्नुपर्ने भन्दै केन्द्रिय सदस्य गुरुङले महामन्त्री थापालाई सुझाव दिदैं थापाको कार्यशैली र उत्तेजनाप्रति कडा आलोचना  व्यक्त गरेका हुन्     ।

थापाले विशेष महाधिवेशन नै पार्टीको मार्गनिर्देशक कदम भएको बताइरहेका बेला संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले भने स्पष्ट शब्दमा– “विशेष महाधिवेशन कुनै हालतमा सम्भव छैन” भन्दै प्रतिवाद गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा थापाले सोमबार सार्वजनिक गरेको स्टाटसको प्रतिवादका लागि  गुरुङले मंगलबार एक पोष्ट सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको पोष्टमा विशेष महाधिवेशनको कुरा कांग्रेस केन्द्रिय समिति बैठकमा आधिकारीक रुपमा नउठेको, विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षमा प्रश्न चिह्न खडा भएको र सभापति देउवाले पदबाट राजीनामा नदिएको लगायतका विषयमा प्रष्ट्याउँदै नियमित महाधिवेशन नै सबै  कांग्रेसका लागि सकरात्मक हुने बताएका छन् । विशेष महाधिवेशनले पुरानालाई नै निर्वाचनमा सामेल गराउने र नियमित महाधिवेशनले समग्र  नयाँ तथा पुराना  प्रतिनिधिहरुको प्रतिनिधित्व गर्ने भएकाले पनि अहिले कांग्रेसभित्र नियमित महाधिवेशन नै मुख्य केन्द्रविन्दुमा रहेको उनले प्रष्ट्याए  ।

नेपाली कांग्रेस संस्थापन पक्ष र इतरसमुहका बरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनलाई त्यागेर नियमित महाधिवेशनको पक्षमा कांग्रेस जनहरु उभिनुपर्ने बताएका छन् । सोही अनुसार का.वा .सभापति र संस्थापन पक्षले पनि अहिले नियमित महाधिवेशन नै कांग्रेसको ध्येय रहेको बताउँदै आएका छन् । गुरुङले महामन्त्री थापाकै शैलीमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाहिर चलेको ‘मंसिरमा विशेष महाधिवेशन’ भन्ने चर्चा निराधार भएको भन्दै  कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रष्ट पारेका छन् । विगतदेखि नै गगन थापाले कांग्रेसलाई एकात्मक बनाउन नचाहेको भन्दै नेता गुरुङले बारम्बार थापाको शैलीप्रति कडा आलोचना गर्दै आएका छन् ।

गुरुङको प्रतिक्रिया : “हल्ला मात्रै, आधार छैन”

गुरुङले फेसबुकमा लेखे, “धेरै साथीहरूले सोध्नुहुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ? मैले भने– बाहिर जति हल्ला छ, त्यति वास्तविकता छैन।”

पाँच कारण जसले ‘विशेष महाधिवेशन असम्भव’ बनाउँछ – गुरुङ

विशेष महाधिवेशन नहुने पाँच ठोस कारण  :

  • केन्द्रीय कार्यसमितिमा प्रस्तावै दर्ता नभएको
  • विधानमा व्यवस्था भए पनि कार्यविधि नबनेको
  • हस्ताक्षर प्रमाणीकरण नभइसकेको
  • विशेष महाधिवेशनले पदाधिकारी हटाउन नसक्ने प्रावधान
  • सभापति हटाउने प्रक्रिया विधानमै फरक

गुरुङले थप स्पष्ट पारे— यदि सभापतिले राजीनामा दिए भने मात्र धारा २६ अनुसार ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाएर नयाँ सभापति छान्ने व्यवस्था लागू हुने हो। गुरुङका अनुसार कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ। त्यसैले अब पार्टीले निर्वाचन तयारीलाई केन्द्रमा राख्नुपर्ने भन्दै उनले लेखे, “पार्टी एकता मजबूत पार्नुपर्ने बेला हो, विशेष महाधिवेशनले उल्टै भ्रम पैदा गर्छ।”

उनको निष्कर्ष स्पष्ट छ—“पार्टी अहिले विशेष महाधिवेशनमा जादैँन। वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा कांग्रेस निर्धक्क चुनावमा जान्छ।” गुरुङले अन्त्यमा लेखे, “विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन। कुरा एकदमै प्रष्ट छ। भ्रममा नपर्नु होला।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *