राजनीति

कांग्रेसमा विशेष महाधिवेशनको माग गर्ने नेताहरुलाई राष्ट्रपतिको सुझाव : पार्टी र देशका लागि एकता नै शान्तिको सन्देश

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग राख्दै आएका नेताहरूले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका थिए । भेटमा लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुन, नेता गुरुराज घिमिरेसहित करिब दुई दर्जन नेता सहभागी थिए। नेता घिमिरेका अनुसार भेटमा जेन९जी आन्दोलनपछि उत्पन्न परिस्थिती, फागुन २१ मा तोकिएको निर्वाचन तथा कांग्रेसभित्रको बढ्दो विवाद बारे कुराकानी भएको थियो।

घिमिरेले भने, “हामीले समग्र राजनीतिक वातावरणको जानकारी राख्यौँ। राष्ट्रपतिज्यूले पनि आफ्नो धारणा व्यक्त गर्दै अहिलेको निष्कर्ष ‘चुनाव नै निकास’ भएको बताउनुभयो।” राष्ट्रपति पौडेलले सरकार, दलहरू र निर्वाचन आयोगसँग भइरहेको छलफलको तथ्य उल्लेख गर्दै संविधानलाई पुनः मार्गमा ल्याउन चुनाव अपरिहार्य रहेको जोड दिए। कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णयले समग्रमा वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे।

आन्तरिक विवादबारे बोल्न आफू असमर्थ रहेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले नेताहरूलाई मिलेर अघि बढ्न सुझाव दिएका छन्। उनका शब्दमा, “पार्टीभित्रको कुरा म भन्न मिल्दैन, तर विभाजनले कसैलाई फाइदा हुँदैन। मिलेर अघि बढ्नुस्।” राष्ट्रपतिले कांग्रेस मात्रै होइन, पुराना तथा नयाँ राजनीतिक दलहरूबीच सहकार्य गर्दै स्थिर चुनावी वातावरण बनाउनु आवश्यक रहेको उल्लेख गरेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *