राजनीति

कांग्रेस महाधिवेशनका दुई विकल्प, पुस अन्तिम सातामा नियमित महाधिवेशन गर्ने तयारी उचित विकल्प : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्पन्न गर्न दुईवटा सम्भावित विकल्प रहेको बताएका छन्।

जेनजी प्रदर्शनका क्रममा आगजनी भएको इलामको पार्टी कार्यालय अवलोकन गर्दै महामन्त्री शर्माले महाधिवेशनको तयारी सम्भव भएको उल्लेख गर्दै, पुस अन्तिम साताका लागि नियमित महाधिवेशन आयोजना गर्न कार्यतालिका अबको बैठकमा तयार पारिने जानकारी दिएका छन्।

महामन्त्री शर्माका अनुसार, महाधिवेशन तयारीका लागि यदि केही दिन समय पर्याप्त नभएमा थप १५ दिन समय लिएर पनि कार्यक्रम सम्पन्न गर्न सकिनेछ। उनले समानुपातिक प्रतिनिधि सूची बुझाउने मिति वा फागुन २१ मा हुने चुनाव केही दिन ढिला गर्न सकिने सम्भावनालाई पनि औंल्याए।

त्यसैगरी, उनले तत्कालीन सभापति सुवर्ण शमशेरको मार्गदर्शन अनुसार विशेष महाधिवेशन गर्ने विकल्प पनि रहेको बताए। यस विकल्प अन्तर्गत सभापति शेरबहादुर देउवाले पार्टीको परिस्थिति र समयको चाप अनुसार मार्गनिर्देशन गरी महाधिवेशन सम्पन्न गर्न सक्नेछन्।

महामन्त्री शर्माले भने, “महाधिवेशन प्रतिनिधिहरूको झण्डै ५४ प्रतिशत हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न सक्दैन। त्यसैले, आवश्यक निर्णय लिएर नियमित वा विशेष महाधिवेशन दुवै विकल्पमा पार्टी अघि बढ्ने छ।”

उनका अनुसार, उपयुक्त निर्णय भएमा ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन वा ०८३ मंसिरमा नियमित महाधिवेशन सम्पन्न गर्न सकिने सम्भावना रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *