राजनीति

कानुनसम्मत नियुक्तिलाई विवादास्पद नबनाउन प्रधानमन्त्री सचिवालयको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाउँदै कानुनसम्मत रूपमा गरिएको नियुक्तिलाई अन्यथा व्याख्या नगर्न आग्रह गरेको छ। प्रधानमन्त्रीले भरोसा गर्न सकिने व्यक्तिलाई प्रमुख स्वकीय सचिवका रूपमा चयन गरेको भन्दै सचिवालयले सार्वजनिक रूपमा स्पष्टिकरण दिएको हो।

प्रेस संयोजक रामबहादुर रावलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सचिवालय न्यूनतम जनशक्तिमा सञ्चालन भइरहेको उल्लेख गर्दै, राज्यकोषमा कम भार पर्नु र छरितो रूपमा काम अघि बढ्नु सरकारको प्राथमिकता भएको बताइएको छ। प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्ना पारिवारिक सदस्यसमेतलाई सरकारी पदमा प्रभाव पारेको भन्ने आरोप उठेपछि सचिवालयको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो।

सचिवालयका अनुसार नियुक्तिहरू प्रचलित कानुन र प्रक्रिया अनुसार नै गरिएका हुन्, तर सार्वजनिक रूपमा उठाइएका आरोपलाई लिएर अनावश्यक विवाद सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरिएको छ। विज्ञप्तिमा थप भनिएको छ—दफ्तर सञ्चालनका सामान्य प्रशासनिक निर्णयलाई ‘नातावाद र दुरुपयोग’ को कोणबाट हेर्ने प्रवृत्ति तथ्यविपरीत र भ्रामक छ।

सचिवालयले सञ्चारमाध्यम र सार्वजनिक तहलाई अपुष्ट तथ्यमा आधारित व्याख्या नगरी जिम्मेवार रूपमा समाचार प्रवाह गर्न आग्रह गर्दै, आवश्यक परे थप स्पष्टीकरण दिन तयार रहेको जनाएको छ।

 

सचिवालयको विज्ञप्ति यस्तो छ :

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित-प्रसारित सामग्रीलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आउनुभएको छ।

राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको छ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा ‘स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने’ व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो।

सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो।

प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।

यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ।

कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ। १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ।

यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ।

जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढंगले निर्वाचन गर्न यो सरकार लागिपरहेका बेला यसबाट ध्यानभंग गराउने उद्देश्यले आएका सामग्रीहरुमा विश्वास नगर्न पनि सबै पक्षहरुलाई विनम्र अनुरोध छ।

प्रेस संयोजक
रामबहादुर रावल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *