आफू सवार गाडीमा रातो मसी छ्यापेपछि महेश बस्नेतको प्रतिक्यिा सरकार नै अलोकतान्त्रिक भएकोले उसले संरक्षण गरेका मानिसहरू पनि त्यही बाटोमा हिँडिरहेका छन्
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले आफू सवार गाडीमा रातो मसी छ्यापिएको घटनालाईलिएर कडा रूपमा आलोचना गरेका छन्। उनले यस्तो गतिविधि कुनै पनि हिसाबले लोकतान्त्रिक आचरण अनुरुपकोहोइन भन्दै असन्तुष्टि व्यक्त गरे।
युवा संघको कोशी जागरण सभामा सहभागी हुन सुनसरीतर्फ जाँदै गर्दा दुई युवाले उनको गाडी रोक्दै बेलुनभित्र राखिएको रातो मसी छ्यापेका थिए। घटनापछि प्रतिक्रिया दिँदै बस्नेतले भने, “सरकार नै अलोकतान्त्रिक भएकोले उसले संरक्षण गरेका मानिसहरू पनि त्यही बाटोमा हिँडिरहेका छन्, यस्तो कार्य लोकतन्त्रमाथिको व्यंग्य हो।”
बस्नेतले फरक विचार राख्न पाइन्छ तर त्यसलाई व्यक्त गर्ने शैली सभ्य हुनुपर्नेमा जोड दिए। उनका अनुसार, विरोध जनाउने तरिका सदैव शान्तिपूर्ण हुनुपर्छ।
“हाम्रो विरुद्धमा कुरा छ भने कार्यक्रम गर, नारा लगाउ, खुला रूपमा असन्तुष्टि राख। तर ढुंगा हान्ने, बाटो छेक्ने, मसी छ्याप्ने जस्ता काम उचित होइन,” बस्नेतले भने।
गत भदौ२३–२४को आन्दोलनपछि ‘जेन–जी’ युवाप्रति आलोचक रूपमा प्रस्तुत हुँदै आएका बस्नेतले पञ्चायतदेखि शाहीकाल र माओवादी द्वन्द्वकालसम्मको समय सम्झिँदै अहिले भइरहेको गतिविधिलाई त्यसको तुलनामा ‘अपरिपक्व’ भनेका छन्।




