काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्ने भएका छन्।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहले निर्वाचनमा सहभागिता जनाउन पार्टी एकता गर्न लागेका हुन्। एकता घोषणा कार्यक्रम आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ।
कार्यक्रममा तीन मुख्य घटकबाहेक अन्य समूहलाई पनि एकतामा समावेश गरिने जनाइएको छ। कात्तिक २८ गते यी तीन पक्षबीच एकता सहमतिमा हस्ताक्षर भइसकेको थियो।
यसअघि नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि छलफल गर्दै आएको थियो।
स्मरणीय छ, गत कात्तिक १९ गते १० वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र छाड्दै प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए भने सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए।
पार्टी घोषणा कार्यक्रममा अध्यक्षता सन्तोष परियारले गर्नेछन्। नयाँ एकीकृत दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ।




