देश

वर्तमान सरकार असंवैधानिक, निर्वाचन गराउन सक्दैन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले चुनाव गराउने कुनै मनसाय नराखेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले चुनाव गराउन नसक्ने दाबी गरे।

अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नै नरहेकाले मुलुकमा चुनाव हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै कारण एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताए। उनका अनुसार प्रधानमन्त्री कार्कीले १ सय २५ वटा पार्टीसँग चुनावबारे वार्ता गरेको भनी प्रस्तुत गरेको दाबीले कांग्रेस, एमालेजस्ता ठूला दलहरूको अपमान गरिएको छ।

ओलीले भने, “म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु— यदि तपाईँलाई अहिलेको परिस्थितिमा चुनाव गराउन सम्भव लाग्छ भने खुरुखुरु गराउनुस्। शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता गर्नुस्, अपराधीहरूलाई नियन्त्रणमा ल्याउनुस्, निर्वाचनयोग्य वातावरण बनाउनुस्। धेरै व्याख्या गर्न चाहन्न, तर तपाईंले त्यो गराउन सक्नुहुन्न, तपाईंको त्यस्तो मनसाय पनि देखिँदैन। १२५ वटा पार्टी बोलाएर वार्ता गरेको भन्ने कुरा एमाले, कांग्रेसजस्ता दलको अपमान हो, त्यो तमासा मात्र हो।”

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै पनि काम आफूहरूलाई मान्य नहुने टिप्पणी गरे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *