काठमाडौं । राजधानी बबरमहल शुक्रबार एमाले निकट युवा समूहको प्रदर्शनले तात्यो। पार्टीका नेता महेश बस्नेतले जेन–जी आन्दोलनको नाममा एमालेका गतिविधि रोक्ने प्रयास भए ‘जहाँ अवरोध, त्यहीँ प्रतिरोध’ गर्दै अगाडि बढ्ने चेतावनी दिए। ‘युथ भोलेन्टियर फोर्स’ सार्वजनिक घोषणा अघि आयोजित प्रदर्शनमा बस्नेत अग्रपंक्तिमा थिए। उनले जेन–जी आन्दोलनमा सहभागी भएका युवाका माग सम्बोधन गर्नु एमालेको प्राथमिकता भएको दाबी गरे।
जेन–जीका मुद्दा समाधान एमालेकै जिम्मा : बस्नेत
बस्नेतका अनुसार आन्दोलनका क्रममा घाइते तथा निधन भएका युवालाई न्याय दिलाउन प्रतिनिधिसभा पुनर्स्थापना अनिवार्य छ। उनले भने, “जेन–जीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ। हामी उनीहरूसँग निरन्तर सम्पर्कमा छौं, तर उनीहरूको नाम दुरुपयोग गर्दै अन्य तत्व सक्रिय छन्।” एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गर्ने कार्यक्रम छ। बस्नेतका अनुसार उक्त फोर्स पालिका, वडा र टोल–समुदाय तहसम्म संगठन विस्तार गरिने छ, जसले आवश्यक परे सुरक्षा भूमिका समेत निर्वाह गर्नेछ। बस्नेतले युवा दस्ता विभिन्न पेशागत संस्थासँग समन्वय गर्दै अघि बढ्ने बताए। उनका शब्दमा— “अब राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने गतिविधि हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं।”
जेन–जी आन्दोलनपछि बढेको राजनीतिक तरंगका बीच एमालेको यस्तो कडा भाषा र ‘युथ भोलेन्टियर फोर्स’ को संरचना विपक्षी शक्तिहरूले ‘राजनीतिक प्रतिक्रिया’ का रूपमा व्याख्या गरेका छन्। तर एमालेका युवानेता बस्नेत भने यो कदम “युवा र राष्ट्रको सुरक्षाका लागि आवश्यक” भएको जिकिर गर्दैछन्।




