देश

प्रतिनिधि सभा चुनावमा सेना खटाउने तयारी, राष्ट्रिय सुरक्षा चुनौतीबारे समिक्षा

काठमाडौं। आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित कार्यालयमा बसेको परिषद्को ४१औँ बैठकपछि सदस्य–सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले चुनावका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई नियन्त्रणमा राख्न सेना आवश्यक पर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए। बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो। अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सहभागी रहेको बैठकले निर्वाचन सुरक्षा मुख्य एजेन्डा बनाएको थियो।

सिमरा तनाव र देशव्यापी सुरक्षा अवस्थामाथि गम्भीर छलफल

चार मंसिर, काठमाडौं। पछिल्ला दिनमा बाराको सिमरा क्षेत्रमा जेन–जी समूह र नेकपा एमाले कार्यकर्ताबीच भएको झडप र त्यसले निम्त्याएको अस्थिर वातावरणका कारण सुरक्षा परिषद्को ४१औँ बैठकमा देशको समग्र सुरक्षा अवस्थामाथि विशेष समीक्षा गरिएको छ। बुधबार र बिहीबार मात्र सिमरामा देखिएको भिडन्त, कर्फ्युजस्तो वातावरण र स्थानीय प्रशासनको दबाबपूर्ण स्थितिलाई परिषद्ले आगामी चुनावमा प्रभाव पार्न सक्ने जोखिमका रूपमा मूल्यांकन गरेको छ।

रक्षा सचिव अर्यालका अनुसार बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले नेपालको आन्तरिक सुरक्षामा पार्न सक्ने प्रभावबारे समेत विस्तृत विश्लेषण गरेको छ। बैठकले निकट भविष्यमा देखिनसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा संयन्त्रले अपनाउनुपर्ने रणनीतिमाथि समेत गहन छलफल गरेको छ। त्यसैगरी परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि सुझावसहित पुनःसंशोधन गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

सिमरासहित देशका विभिन्न ठाउँमा देखिन थालेको राजनीतिक तथा सामाजिक तनावले आगामी निर्वाचनलाई प्रभावित पार्न सक्ने आकलन गर्दै सुरक्षा परिषद्ले समयमै सेना परिचालनको तयारी थाल्न सरकारलाई सुझाएको हो। परिषद्को भनाइअनुसार, स्वच्छ, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु नै अहिलेको प्राथमिकता बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *