देश

लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । बुधबार बाराको सिमरामा देखिएको हिंसा र तनावप्रति प्रधानमन्त्री सुशिला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत हिंसा र अराजकतापूर्ण गतिविधि लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने सबैलाई शान्तिपूर्ण स्वतन्त्रता वाकमा भाग लिन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीका अनुसार युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकार गम्भीरतापूर्वक लिन्छ तर अभिव्यक्ति स्वतन्त्रताको नाममा सार्वजनिक सम्पत्ति तोडफोड, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने कार्य स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति–सुरक्षा कायम गर्दै राजनीतिक दलका शीर्षस्थ नेताहरूको सुरक्षित आवागमन र आगामी निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण सुनिश्चित गर्न उच्च सतर्कताका साथ परिचालन गर्न निर्देश दिएको समेत बताएकी छिन् । कार्कीले राजनीतिक उत्तेजना बढाउन खोज्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई अपिल गर्दै, लोकतान्त्रिक प्रक्रियाद्वारा मात्र युवाहरूको वास्तविक अपेक्षा पूरा हुन सक्ने उल्लेख गरे।

बुधबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा नेकपा एमालेका कार्यकर्ता र जेन–जी युवाबीच झडप भएको थियो । परवानिपुरमा एमालेले आयोजना गर्न लागेको ‘युवा जनजागरण अभियान’का लागि महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा विमानस्थलमा आउने जानकारी पाएपछि जेन–जी समूहले विरोध प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको थियो।

झडपका क्रममा जेन–जी समूहका युवाले एमालेले निर्माण गरेको स्वागतद्वार भत्काएको प्रशासनले जनाएको छ। प्रहरी हस्तक्षेपका क्रममा केही युवक घाइते भएका छन्। स्थिती नियन्त्रणबाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो । कर्फ्यु अवधिमा गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको राजमार्गका दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रमा सबै प्रकारका सभा, जुलुस, प्रदर्शन र भीडभाड पूर्ण रूपमा निषेध गरिएको थियो ।

सरकारले शान्ति–सुरक्षा कायम गर्न नसकेको आरोप लगाउँदै एमालेले घटनाको कडा प्रतिवाद गरेको छ। कांग्रेसलगायत अन्य दलहरूले पनि घटनाको सत्यतथ्य छानबिन गर्न र चुनावका लागि आवश्यक सुरक्षा वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस्ता गतिविधि दोहोरिए आगामी निर्वाचन असम्भव हुनसक्ने चेतावनी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *