काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मध्यरातको गिरफ्तारीलाई ‘सत्ता दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार’ भन्दै तत्काल रिहाइको माग गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित उपत्यका–स्तरीय जनप्रतिनिधि भेलामा सम्बोधन गर्दै ओलीले सरकारको कदमलाई “स्वेच्छाचारिताको नयाँ उदाहरण” भनेर आलोचना गरे। उनका शब्दमा,“दिउँसो भिडियो सार्वजनिक भयो, बेलुका नै पक्राउ गरियो। के सरकारसँग त्यस भिडियोको जवाफ छ रु अभिव्यक्ति दिएकै आधारमा कसैलाई थुन्न पाइँदैन, मानव अधिकार आयोगले समेत भनिसकेको छ।”
ओलीले सरकारलाई चुनौती दिँदै थपे– “बोल्नु अपराध हो ? बिहान पक्राउ गरेको भए के बिग्रन्थ्यो रु राति–राति तमासा किन रु सरकारले आफूले सुन्न नचाहेको कुरा भए सबैलाई नियन्त्रणमै राख्ने सोच बनाउँदैछ।” दुर्गा प्रसाईँलाई सोमबार मध्यरातमा भक्तपुरस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो। सरकारले भने ‘कानूनी प्रक्रिया’ भन्दै औपचारिक टिप्पणी गरेको छ, तर गिरफ्तारीको समय, उद्देश्य र प्रक्रियामाथि व्यापक प्रश्न उठिरहेको छ।
ओलीको तर्क छ—यदि सरकार आलोचनालाई दमन गरेर गणतन्त्र चलाउन खोज्दैछ भने यो खतरनाक अभ्यासको सुरुआत हो। यस घटनाले—अभिव्यक्ति स्वतन्त्रतामा राज्यको हस्तक्षेप,सत्ता पक्षको आलोचकप्रति दमन,प्रहरी प्रशासनको राजनीतिक प्रयोग,जस्ता संवेदनशील बहसलाई फेरि सतहमा ल्याएको छ। सरकारले प्रसाईँविरुद्ध ठोस आरोप सार्वजनिक नगरेको अवस्थामा, पूर्वप्रधानमन्त्रीको यो वक्तव्यले राजनीतिक तानातान झनै चर्किने संकेत देखाएको छ।




