देश

आगामी फागुन २१ को चुनाव जेन–जी आन्दोलनभन्दा हिंसात्मक बन्ने संकेत,सरकार गम्भिर हुन आवश्यक

काठमाडौं । बाराको सिमरा चोक र विमानस्थल क्षेत्र बुधबार राजनीतिक हिंसा, कर्फ्यु र असुरक्षाको खुला प्रदर्शन बन्यो । एमाले कार्यकर्ता र जेन–जी युवाबीचको झडपले मात्र वातावरण बिगारेन, यसले आगामी फागुन २१ मा हुने भनिएको निर्वाचन जेनजी आन्दोलनभन्दा अझ अराजक बन्न सक्ने गम्भीर संकेत दिएको छ । राजनीतिक भीड, टायर दहन र अवरोध, सुरक्षाकर्मीमाथि गाली शब्द प्रहार र आक्रमणको संकेतले आगामी निर्वाचन नहुने प्रष्टै देखिन्छ । सरकारले आगामी निर्वाचनमा जान राजनीति दलहरुलाई आग्रह गरिरहेको छ । तर राजनीति दलहरुले सरकारले देशमा शान्ति सुरक्षा कायम राख्न नसक्ने बताउँदै आएका छन् । सोही कुरा भयो आज बारामा पनि ।

महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत विमानस्थल हुँदै सभामा सहभागी हुन त्यहाँ सहभागि हुने सूचना पाएपछि जेन–जी समूह सडकमा ओर्लिएको थियो। उनीहरूले विमानस्थल प्रवेशमार्गमै टायर बालेर आवागमन रोकिदिए, एमालेले निर्माण गरेको स्वागतद्वार भत्काइदिए, र त्यसपछि दुबै पक्षबीच हातहत्था झडप सुरु भयो। प्रहरीले लाठीचार्जदेखि चेतावनीसम्मका सबै उपाय प्रयोग गरे पनि भीड हटेन। स्थिती चर्किँदै जाँदा काठमाडौंबाट सिमरा उडेको जहाजसमेत रोकियो। यात्रुहरूलाई विमानबाट ओर्लिन बाध्य पारिनु राजनीतिक ‘आन्दोलन’ अब नागरिक असुविधाको प्रत्यक्ष माध्यम बन्दै गएको अर्को संकेत हो।

कर्फ्यु—सुरक्षा कि असफल शासनशैली ?

बारा प्रशासनले सिमरा चोक, विमानस्थल क्षेत्र र राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा दिउँसो १ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु जारी गर्‍यो। कर्फ्यु ‘नियन्त्रण’ का लागि नभई ‘सुरक्षा विग्रिसकेको प्रमाण’ जस्तो देखिएको छ।
कारण स्पष्ट छ—राज्यका सुरक्षा निकायलाई चुनौती दिने झडप, विमानस्थल जस्तो संवेदनशील क्षेत्रमै विरोध प्रदर्शन,सरकारी तथा निजी सम्पत्तिमा क्षतिको सम्भावना, जेनजी समूहको अराजक र अनियन्त्रित भीड ।

यसभन्दा ठूलो प्रश्न—चुनाव आउन ३ महिना बाँकी हुँदा नै हवाईयातायात रोक्ने स्तरको हिंसा हुँदैछ भने फागुन २१ मा देशभर सुरक्षा कसरी कायम राखिन्छ ? चुनाव हुन नसक्ने’ चिन्ता—विशेषज्ञ र कानुनी व्यक्तिहरूको एकमत छ । घटनाको विश्लेषण, जेनजीहरुको अराजक गतिविधि,पार्टीभित्रको विद्रोह,राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको अभिव्यक्ति र जेनजी समुहमा किशोरावस्थाका बालबालिकाको प्रयोगले नै स्पष्ट देखिन्छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यले सख्त चेतावनी दिएका छन्—नेतालाई जनता बीच जानै नदिने हो भने चुनाव कसरी सम्भव ? उनले अन्तरिम सरकारले देशका नागरिकहरुलाई सचेत गराउन नसकेको बताएका छन् । उनका अनुसार, सत्तामा बसेका जेनजी–सम्बद्ध पक्ष झनै जिम्मेवारीहीन बन्दै गएका छन् । ती जेनजीहरुले विवाद समाधान गर्नतिर भन्दा हातहतियार बल प्रयोगमा उर्तिने गरेको प्रष्टै देखिन्छ । यस्तै वरिष्ठ वकिलहरू, राजनीतिक विश्लेषकहरू र पूर्व पत्रकारहरूले पनि यस्तै चेतावनी दिएका छन्— राजनीतिक सहमति कमजोर,सुरक्षा अवस्था अस्थिर,जेनजी विद्रोही युवाहरूको उग्रता बढ़्दो,जेलबाट भागेका हजारौँ कैदी अझै फरार, सुरक्षा निकायबाट लुटिएका सयौँ हतियार फिर्ता नआएको स्थिती यी सबै तथ्यले उम्मेदवार आक्रमण, मतदाता आतंकित पार्ने र चुनावी हिंसा बढ्ने जोखिम अत्यधिक देखिएको छ।

जेनजी आन्दोलनपछि झनै अस्थिरता—दल दर्ताको ‘बाढी’ र वैचारिक शून्यता

जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचना हल्लाएको छ, तर नयाँ दलहरूको भीडले देशको समस्या समाधान नगर्ने विश्लेषकहरूको निष्कर्ष छ। निर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या अधिक छ । तर सचेतना भने शून्य देखिन्छ ।
कानुनविद् डा. विजय मिश्रका अनुसार जसले पायो त्यसले दल खोल्ने प्रवृत्ति खतरनाक हो। वरिष्ठ अधिवक्ता विष्णु भट्टराई थप्छन्, नयाँ बोतलमा पुरानै रक्सी—यही अवस्था हो।

सिमरा घटना : जेनजी भावना होइन, ‘दुरुपयोग’ निर्वाचन नहुने संकेत स्पष्ट : महामन्त्री विश्वप्रकाश शर्मा

सिमरा घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारप्रमुखलाई सोधे—यसरी भ्रमणमै रोक्ने हो भने चुनाव हुन्छ ? उनको तर्क स्पष्ट छ—अभिव्यक्ति र भ्रमणको अधिकार कुण्ठित हुँदा द्वन्द्व मात्र बढ्छ। उनी भन्छन्—“जेनजी भावना होइन, जेनजी नामको दुरुपयोगले हिंसाको संस्कार बढाइदिएको छ।”

चुनावको दिशातिर देश कि अराजकता तर्फ ?

यत्रतत्र प्रदर्शन, टायर दहन, हतियार हातमा परेको युवा, दलगत झडप, कर्फ्यु, र राजनीतिक अविश्वास—यी सबै संकेत एउटै तर्फ इशारा गर्छन् ,फागुन २१ को चुनाव जेनजी आन्दोलनको दिनहरूमै देखिएको अराजकताभन्दा धेरै उग्र, हिंसात्मक र असुरक्षित बन्नसक्छ। यदि राज्यले—राजनीतिक सहमति,सुरक्षा नियंत्रण,विद्रोही गतिविधि नियन्त्रण,कानुनी कठोरता,निर्वाचन वातावरण निर्माण यी पाँच कुरामा तुरुन्त ध्यान दिएन भने, देश चुनाव होइन, अर्को ठूलो संकटतिर धकेलिन सक्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *