देश

बारामा एमाले कार्यकर्ता र जेन–जीबीच झडप, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

बारा ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन–जी युवाबीच झडप भएको छ।

परवानिपुरमा एमालेले आयोजना गर्न लागेको ‘युवा जनजागरण अभियान’मा सहभागी हुन महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा विमानस्थलमा आइपुग्ने जानकारी पाएपछि जेन–जी समूहले विरोध जनाउँदै सडकमा उत्रिएको थियो। सोही क्रममा दुबै पक्षबीच झडप सुरु भएको हो।

झडपका क्रममा जेन–जी युवाले सिमरा चोकमा एमालेले निर्माण गरेको स्वागतद्वार च्यातेर भत्काएका थिए। प्रहरी हस्तक्षेपका क्रममा केही युवक घाइते भएको प्रशासनले जनाएको छ।

स्थिती थप तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ का संवेदनशील क्षेत्रलाई लक्षित गर्दै दिउँसो १:३० बजेदेखि राति ८ बजे सम्म कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिमा गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको राजमार्गका दायाँ–बायाँ ५०० मिटरभित्र तथा सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, विरोध, प्रदर्शन तथा भीडभाड गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *