काठमाडौं । नागरिक बचाउ महाअभियानले आफ्ना संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र विनासर्त रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ। अभियानका सदस्यहरूले प्रसाईंलाई “कुनै जाहेरी र पक्राउ पुर्जीबिनै रातारात गिरफ्तार गरिएको” भन्दै अन्तरिम सरकारलाई २४ घण्टाभित्र विनासर्त रिहा नगरे भोलीबाट देशव्यापी रुपमा आन्दोलन चर्कोउने चेतावनी दिएका हुन् ।
अभियानले बुझाएको ज्ञापनपत्रमा भनिएको छ—“देशद्रोही, भ्रष्टाचारी, दलाल र तस्कर खुलेआम हिंडिरहेका बेला आन्दोलनका केन्द्रीय अध्यक्षलाई बिना कारण पक्राउ गर्नु अन्याय हो। २४ घण्टाभित्र रिहा नगरिए हामी भोलिबाट कडा आन्दोलनमा जान बाध्य हुन्छौं।”भक्तपुरस्थित घरबाट सोमबार मध्यराति पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले प्रसाईंलाई “सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्याउने अभिव्यक्ति” दिएको आरोपमा नियन्त्रणमा लिएको बताएको छ ।
पक्राउ हुनुभन्दा केही घण्टा अघि मात्रै प्रसाईंले पत्रकार सम्मेलन गरेर जेन–जी आन्दोलन, सिंहदरबार–सर्वोच्चमा आगजनीका आरोप, गृहमन्त्री ओमप्रकाश अर्याल र तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नै सो आन्दोलनका सहभागी भएको भन्दै उनले सो घटनाको जिम्मेवारी हुुनुपर्ने र कानुनसंम्बद्ध कारबाही हुनुपर्ने बताएका थिए । साथै उनले मंसिर ७ गते देश ठप्प पार्ने गरी आन्दोलन गर्ने बताउँदै सरकारलाई संचारमाध्यम मार्फत जानकारी समेत गराएका थिए ।
यस्तै प्रसाईँले केही पूर्वसर्वोच्च न्यायाधीश, चिकित्सक, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सामाजिक अभियन्तामाथि पनि सो घटनामा संलग्नता रहेको बताएका थिए । उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेका भिडिओहरूलाई प्रमाणका रूपमा दाबी गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताहरूको नामसमेत उल्लेख गरेका थिए । सो आन्दोलनमा उनीहरुको समेत प्रत्यक्ष संलग्नता रहेको थियो ।
अन्तरिम सरकारले हतियार लुटपाट,धाकधम्की,सामाजिक संजालमा विभिन्न अपाच्य शब्द प्रहार गर्ने र सिंहदरबार,संसद भवन,सर्वोच्च अदालत विभिन्न पार्टीका र व्यक्तिका कार्यालयहरु र नीजि निवास तोडफोडमा संलग्नता रहेकामाथि कारबाही गर्न सकेको छैनन् ।उल्टै जेनजीका नाइकेहरुले सरकारलाई सो कार्यकमा संलग्नमाथि कारबाही नगर्न भन्दै बारम्बार दबाब सिर्जना गर्दा समेत सरकार मौन बस्नु कति जायज ?ती भाइरल क्लिप्सहरु अहिले पनि सामाजिक संचालहरुमा छरपस्टै छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वक्तव्य जारी गर्दै मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक घटना भनेका छन् । राप्रपाले प्रसाईँको पक्राउबाट सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा गएको बताएको छ । राप्रपाले प्रसाईँको विनासर्त रिहाईको माग गरेको छ ।
यस्तै प्रसाईलाई पक्राउ गरेको भिरोधमा रास्वाबाट निस्कासित पूर्वमहामन्त्री मुकुल ढकालले समेत आपति जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–भड्काउ अभिव्यक्ति दिएको भनेर दुर्गा प्रसाई जेलमा ,
भड्काउ कार्य गरेर सिंहदरवार जलाएकाहरू सरकारमा ।
देश टुक्राउँछु भनेर अभिव्यक्ति दिने सरकारको सुरक्षामा,
धर्म र देश जोगाउँछु भन्ने दुर्गा प्रसाई कारागारमा ।
देश कता जाँदै छ ?
उपत्यकामा सुरक्षा कडा, वकिललाई भेट्न नदिँदा विवाद
पक्राउपछि काठमाडौं उपत्यकामा सुरक्षा अभूतपूर्व रूपमा कडा बनाइएको छ। मुख्य चोक, सरकारी क्षेत्र र संवेदनशील ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। तर बिहान प्रसाईंलाई भेट्न पुगेका उनका कानुनी सल्लाहकारलाई प्रहरीले भेट अनुमति नदिँदा थप विवाद भएको थियो।
अधिवक्ता विनोदमणि भट्टराईले भने, “प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न दिएन। यो संविधानले दिएको अधिकारको उल्लङ्घन हो।”
देशव्यापी विरोधको घोषणा
प्रसाईंलाई पक्राउ गरिएको घटनापछि नागरिक बचाउ महाअभियान र सम्बद्ध समूह आक्रोशित बनेका छन्। पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, “सरकारले रातारात अपहरण शैलीमा गिरफ्तारी गर्यो। अब प्रतीक्षा छैन—आजैबाट देशभर आन्दोलन सुरु गर्छौं।” प्रसाईंले पछिल्लो समय राजसंस्थाको बहालीदेखि बैंक ऋण मिनाहा गर्ने २७ बुँदे माग राख्दै मंसिर ७ बाट आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। सोही तयारी बीच उनी पक्राउ परेका हुन्।
मानव अधिकार आयोगको चासो
प्रसाईं पक्राउका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो व्यक्त गरेको छ। आयोगको टोली काठमाडौं प्रहरी परिसर पुगेर प्रसाईंको स्वास्थ्य, थुनुवा अवस्थाहरू र कानुनी प्रक्रिया हेरेर फर्किएको छ।
आयोगले भनेको छ— “अभिव्यक्तिका कारण कसैलाई पक्राउ गर्नु मानव अधिकारविपरीत हो। राज्यले लोकतान्त्रिक मूल्यको सम्मान गर्नुपर्छ।” प्रसाईंलाई म्याद थपका लागि सीडीओ कार्यालय लैजाँदै गर्दा उनका समर्थकले नाराबाजी गर्दै प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
प्रहरी–प्रसाईं समर्थकबीच तनाब बढ्दै गएको छ। सुरक्षा निकायले “संभावित भिड र हिंसा रोक्न” कडा सतर्कता अपनाएको छ। त्यसैबीच नागरिक बचाउ अभियानले दिएको २४ घण्टे अल्टिमेटमले राजनीतिक वातावरण थप तातिएको छ। यदि निर्धारित समयभित्र दुर्गा प्रसाईंलाई रिहा नगरिए आन्दोलन अझ चर्किने स्पष्ट संकेत अभियानले गरिसकेको छ।




