राजनीति

पार्टीलाई चिरा पार्ने अभियानमा सक्रिय महामन्त्री थापा र शर्मालाई सभापति देउवाले कस्तो देलान् जवाफ ?

काठमाडौं । सिंगापुरबाट फर्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको महाधिवेशन–विशेष महाधिवेशनको विवाद समाधानका लागि सक्रियता बढाएपछि आन्तरिक राजनीति झन् तातेको छ। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर विदेश गएका देउवा फर्किएलगत्तै नेताहरूलाई भेटेर समन्वयमा जुटेको देखिएका छन्।

असोज २८ देखि चलिरहेको केन्द्रीय समिति बैठक महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निरन्तर अल्झिएको छ। यही अन्योलका बीच देउवाले प्रवक्ता डा. प्रकाशशरण महत, खड्का, कार्की, साउदलगायत नेताहरूसँग अलग–अलग परामर्श गरेका छन्।

सभापति देउवाले भेटघाटमा पार्टी नेतृत्वले चुनावलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको प्रवक्ता महतले बताए। उनका अनुसार, चुनाव नजिकिँदै गर्दा महाधिवेशन गर्न समय नपुग्ने र अहिले संरचना व्यवस्थित गर्दै निर्वाचन तयारीमा लाग्नुपर्ने देउवाको धारणा छ।

प्रवक्ता महत भन्छन्, “महाधिवेशन चुनावअघि सम्भव छैन। अब क्रियाशील सदस्यता टुङ्ग्याएर चैतदेखि वडा अधिवेशन, वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका बनाउने तयारी छ।”उनले महामन्त्री गगन थापामाथि सदस्यतासम्बन्धी जिम्मेवारी पूरा नगरेको भन्दै आपत्ति जनाएका छन् ।

गगन थापा र विश्वप्रकाश शर्मा भने महाधिवेशन ढिलो नगर्न कांग्रेस संस्थापन समुहलाई आग्रह गरिरहेका छन् । उनीहरूले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर जुटाएर असोज २९ मै विशेष महाधिवेशनको माग दर्ता गरिसकेका छन्। थापा भन्छन्, “नियमित महाधिवेशन सकिने समय नजिकिँदा बहाना बनाएर टार्ने खेल भयो। अब मंसिर २७ मा विशेष महाधिवेशन हुन्छ।” शर्माले पनि ‘माग बेवास्ता भए महामन्त्रीबाटै राजीनामा दिन सक्ने’ चेतावनी दिएका छन्। पछिल्लो समय जेनजी आन्दोलदेखि दुई महामन्त्री सभापति देउवाको कडा आलोचनामा उर्तिदै मात्रै आएका छैनन्,उनीहरुले जेनजी युवापुस्ता र बाह्य शक्तिको दबाबमा नेपाली कांग्रेसलाई कम्जोर बनाउन लागि उनीहरुमाथि आरोप लागेको छ । महामन्त्रीहरुले नै पार्टी र देश संकटमा परको बेलामा आगोमा धुप थप्न खोजेको भन्दै चौतर्फी आलोचना र टिक्काटिप्पणीहरु भइरहेका छन् ।

कार्यवाहक खड्काको दौडधूप : सहमति खोज्दै मध्यमार्गी प्रस्ताव

सभापति देउवा फर्किएपछि कार्यवाहक खड्का पनि शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेट्दै सहमतिमुखी प्रस्ताव तयार पार्ने प्रयासमा छन्। शेखर कोइराला, सिटौला, निधि, प्रकाशमान सिंहलगायत नेतासँग उनले नजिकिँदै आएको चुनावलाई ध्यानमा राखेर बीचको मार्ग निकाल्न खोजिरहेका छन्।

संस्थापन पक्षका पूर्वपदाधिकारी—सिटौला, निधि, सिंह, गच्छदार, शशांक कोइराला र महत—चुनावअघि महाधिवेशन गर्नु ‘गैरव्यवहारिक’ देखिन्छ भन्दै देउवाको पक्षमा उभिएका छन्। इतर पक्षका नेता भने महाधिवेशन टारे पार्टी विभाजनको वातावरण बढ्ने चेतावनी दिइरहेका छन्। नेता गुरुराज घिमिरे भन्छन्, “केन्द्रीय समिति गम्भीर छैन। अब कार्यसमितिको म्याद थपेर महाधिवेशन टार्ने खेल भइरहेको छ। हामी चुप बस्दैनौँ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *