देश

अनधिकृत पहुँचको दाबी गलत भएको निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा निर्वाचन आयोगको वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच पुगेको दाबी फैलएसँगै आयोगले औपचारिक रूपमा खण्डन गरेको छ। आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको र संवेदनशील विवरण कुनै पनि व्यक्तिले ह्याक वा फेला पारेको दाबी निराधार भएको जनाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनामा कुनै पनि अनधिकृत प्रवेश भएको छैन। मतदाता नामावली व्यवस्थापन प्रणाली पूर्ण सुरक्षित छ।”

आयोगले अनलाइनमा देखिएका केही पीडीएफ फाइलहरूबारे स्पष्ट गर्दै ती निर्वाचन प्रयोजनका लागि विगतमा कानुनसम्मत रूपमा राजनीतिक दल तथा कार्यालयहरूलाई उपलब्ध गराइएका सामान्य सूचना मात्र भएको उल्लेख गरेको छ। आयोगका अनुसार ती फाइलहरूमा नागरिकका संवेदनशील वा गोप्य विवरणहरू समावेश छैनन्।

सुरक्षा पक्षप्रति चासो बढेपछि आयोगले विज्ञहरूको टोलीमार्फत सूचना प्रणालीको निरन्तर अनुगमन गरिरहेको र सम्भावित जोखिमको मूल्यांकन गरी आवश्यक सबै सुरक्षात्मक उपाय लागू गरिएको जनाएको छ।

आयोगले भ्रामक सामग्री र अप्रमाणित सूचनामा विश्वास नगर्न अनुरोध गर्दै भनेको छ,
“गोप्य राखिनुपर्ने नागरिकका सूचनाको सुरक्षाप्रति आयोग पूर्ण रूपमा प्रतिबद्ध छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *