देश

दुर्गा प्रसाईँ सोमबार मध्यरामा पक्राउ परेपछि नागरिक बचाउ दल तत्काल सडकमा, राजनीतिक तनाव उकालो चढ्दै

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दल आक्रोशित बनेको छ। निर्धारित कार्यक्रमअनुसार मंसिर ७ बाट आन्दोलन सुरु गर्ने तयारी रहेका पार्टी नेताहरू प्रसाईँ पक्राउ परेपछि आजैदेखि देशव्यापी विरोधमा उत्रिने घोषणा गरेका छन्। नागरिक बजाउ अभियानका अध्यक्षसहितका समर्थकहरु अहिले गृहमन्त्रालयमा छलफलमा पुगेका छन् ।

पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईँलाई “अपहरण शैली”मा पक्राउ गरेर सरकारले नै अस्थिरता निम्त्याएको बताएका छन् । थाम्सुहाङ भन्छन्, “सरकारले रातारात दमनकारी कदम चाल्यो। त्यसैले अब प्रतीक्षा हुँदैन—आजैबाट आन्दोलन सुरु गर्छौं।”

सोमबार राती मध्यरातमा प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित घरबाट नियन्त्रणमा लिएको थियो। उनी यसअघि पनि चैत १५ को प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका थिए र अदालतको आदेशमा रिहा भएका थिए। पछिल्लो समय बैंक ऋण मिनाहा र राजसंस्थाका पक्षमा २७ बुँदे माग राख्दै उनी मंसिर ७ देखि आन्दोलनमा जाने तयारीमा थिए।

प्रहरी स्रोतका अनुसार, यसपटक उनलाई ‘हिंसा भड्काउने अभिव्यक्ति’ दिएको आरोपमा नियन्त्रणमा लिइएको हो। नागरिक बचाउ दलले भने सरकारले जनआन्दोलन रोक्न बल प्रयोग गरेको आरोप लगाउँदै आज पहिलो चरणमा सीडीओ कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ। थाम्सुहाङले प्रसाईँको विना सर्त र सम्मानजनक रिहाइ माग गर्दै चेतावनी दिए, “यदि सरकारले दमनको बाटो नछाडे हामी सडकबाटै यसको अन्त्य गरिदिन्छौं।”

प्रसाईँले सोमबार आफूले घोषणा गरेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिने क्रममा जेन–जी आन्दोलनसँग सम्बन्धित आरोपहरू सार्वजनिक गरेका थिए । सो आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडियो तथा अडिओ क्लिप प्रस्तुत गर्दै भदौ २४ का घटनाको योजना उच्च तहबाट गरिएको बताएका थिए ।

प्रसाईँले , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा आगजनी गर्नेजस्ता गतिविधि ‘जेन–जी अपरेशन सेन्टर’ बाट सञ्चालित गरिएको र सो प्रक्रियामा प्रधानमन्त्री सुशीला कार्की तथा गृहमन्त्री ओमप्रकाश अर्यालको “प्रत्यक्ष संलग्नता” रहेको दाबी गर्दै उनीहरुमाथि कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने बताएका थिए ।

उनी भन्छन्, जेन–जी आन्दोलनलाई “पश्चिमा प्रभावमा चलेका संस्थाहरू” ले डिजाइन गरेको हो, जसमा केही अन्तर्राष्ट्रिय संगठन तथा फाउण्डेसनहरूको भूमिका रहेको उनले दाबी गरे। उनका अनुसार, आन्दोलनमा घुसपैठ गराई अशान्ति फैलाउनेदेखि गोली चल्ने वातावरण बनाउनेसम्मका योजना पहिले नै तय गरिएको थियो।

प्रसाईँले केही पूर्वसर्वोच्च न्यायाधीश, चिकित्सक, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सामाजिक अभियन्तामाथि पनि सो घटनामा संलग्नता रहेको बताएका थिए । उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेका भिडिओहरूलाई प्रमाणका रूपमा दाबी गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताहरूको नामसमेत उल्लेख गरेका थिए ।

पछिल्लो एक वर्षमा प्रसाईँ पटक–पटक गिरफ्तारी र विवादमा परेका छन् । प्रसाईँ पछिल्ला १२ महिनामा निरन्तर कानुनी विवादमा तानिँदै आएका छन्। क्यान्सर उपचार गराइरहेका प्रसाईँलाई विभिन्न अभिव्यक्ति, विवादास्पद अभियान र हिंसात्मक घटनासँग जोडिँदै पटक–पटक पक्राउ तथा रिहा गरिँदै आएको छ।

गत चैत १५ को तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले पक्राउ गरेको थियो । केपी शर्मा ओलीविरुद्ध “फेक डकुमेन्ट” को प्रयोग गरी दुष्प्रचार गरेको आरोपमा समेत उनीमाथि थियो । प्रसाईँले गत चैत्र १५ को आन्दोलनमा राजा फर्काउने अभियानमा ठूलो मात्रामा आफ्ना समर्थकहरुलाई सडकमा उतारेका थिए । सो क्रममा सार्वजनिक तथा नीजि सम्पतीमाथि समेत तोडफोड भएको थियो भने एक पत्रकारसहित दुई जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो ।

भारतीय गुन्डा लरेन्स विश्नोइको नाममा धम्कीसम्बन्धी आरोप,विभिन्न चरणमा विद्युतिय कारोबार ऐन, सम्पत्ति शुद्धीकरण, आपराधिक उपद्रव, कर्तव्य ज्यानलगायतका मुद्दा उनलाई सो आन्दोलपछि फरार भएपछि भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । उनले पक्राउ पर्नुभन्दा पहिले सामाजिक संजाल फेसबुकको माध्यमबाट मानवअधिकार आयोगलाई मौखिक सुरक्षाको जिम्मा लिन आग्रह गर्दै नेपाल आउने बताएका थिए । उच्च अदालत पाटनले धरौटीमा छाडेपछि प्रसाईँ कारागारमुक्त भएका थिए ।

रिहा भएर बाहिर आएपछि उनले राजसंस्था पुनर्स्थापना र आर्थिक क्षेत्रको सुधारका मागसहित ७ मंसिरदेखि आन्दोलन गर्ने तयारीलाई तीव्र बनाएका थिए। तर, आन्दोलन सुरु हुनुभन्दा केही दिन अघि नै उनलाई पुनः जेनजी आन्दोलनबाट बनेको अन्तरिम सरकारले पक्राउ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *