काठमाडौं । ‘मातृभूमि बचाउ’ अभियान अगुवी दुर्गा प्रसाईँले आफूले घोषणा गरेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिने क्रममा जेन–जी आन्दोलनसँग सम्बन्धित भन्दै गम्भीर आरोपहरू सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडियो तथा अडिओ क्लिप प्रस्तुत गर्दै भदौ २४ का घटनाको योजना उच्च तहबाट गरिएको दाबी गरे। (प्रसाईँले लगाएका यी सबै आरोपहरू उनीकै दाबी हुन्, यस्ता दाबीहरूको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
प्रसाईँको भनाइमा, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा आगजनी गर्नेजस्ता गतिविधि ‘जेन–जी अपरेशन सेन्टर’ बाट सञ्चालित गरिएको र सो प्रक्रियामा प्रधानमन्त्री सुशीला कार्की तथा गृहमन्त्री ओमप्रकाश अर्यालको “प्रत्यक्ष संलग्नता” रहेको दाबी उनले गरे।
उनी भन्छन्, जेन–जी आन्दोलनलाई “पश्चिमा प्रभावमा चलेका संस्थाहरू” ले डिजाइन गरेको हो, जसमा केही अन्तर्राष्ट्रिय संगठन तथा फाउण्डेसनहरूको भूमिका रहेको उनले दाबी गरे। उनका अनुसार, आन्दोलनमा घुसपैठ गराई अशान्ति फैलाउनेदेखि गोली चल्ने वातावरण बनाउनेसम्मका योजना पहिले नै तय गरिएको थियो।
प्रसाईँले केही पूर्वसर्वोच्च न्यायाधीश, चिकित्सक, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सामाजिक अभियन्तामाथि पनि सो घटनामा संलग्नता रहेको आरोप लगाए। उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेका भिडिओहरूलाई प्रमाणका रूपमा दाबी गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताहरूको नामसमेत उल्लेख गरे।
यद्यपि, प्रसाईँका निवेदनहरूबारे सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन र कानून–सुरक्षा निकायले उनको दाबीको स्वतन्त्र छानबिन गरेकोरनगरेकोबारे आधिकारिक जानकारी प्राप्त भएको छैन। प्रसाईँले आगामी दिनमा थप प्रमाण सार्वजनिक गर्ने भन्दै आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाउने घोषणा गरेका छन्।




