खेलकुद

फ्लडलाइटको चमकसँगै एनपीएल सुरु हुँदै , कीर्तिपुरमा दर्शकको भीड

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज मनसिर १ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेलमा साविकको विजेता जनकपुर बोल्ट्स र पुनःरचना भएर आएका काठमाडौं गोर्खाज आमनेसामने हुँदा मैदान वरिपरि चहलपहल निकै बढेको देखिन्छ।

अपरान्ह ४ बजेदेखि सुरु हुने यस खेलका लागि दर्शकदीर्घा भरिन थालेका छन्। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका टोली तैनाथ छन्।

यसपटकको प्रतियोगिता नेपाली क्रिकेटका लागि विशेष पनि बनेको छ, किनकि इतिहासमै पहिलोपटक फ्लडलाइटमुनि खेल खेलिँदैछ। गत संस्करणभन्दा फरक रूपमा, मैदानमा १० हजार दर्शक अटाउने प्यारापिट र ६ वटा अत्याधुनिक फ्लडलाइट जडान गरिएको छ।

गत वर्ष जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि हात पारेको थियो र यो वर्ष पनि सोही सफलता दोहोर्‍याउने लक्ष्यमा छ। अर्कोतर्फ, पाँचौं स्थानमै रोकिएको काठमाडौं गोर्खाजले टोली, प्रशिक्षक, लोगोदेखि जर्सीसम्म परिवर्तन गर्दै नयाँ धारमा मैदानमा उत्रने तयारी गरेको छ। कीर्तिपुरमा बढ्दो रौनकले अबको एनपीएल झनै रोमाञ्चक हुने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *