राजनीति

पार्टीभित्रको विवाद मिलाउन कांग्रेस सभापति देउवाको सक्रियता

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। सिंगापुरमा १८ दिनको स्वास्थ्य उपचारपछि शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि नेतासँग निरन्तर भेटघाट गर्दै आन्तरिक मतभेद चुकाउने प्रयास तीव्र पारेका हुन्।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिक हैसियतमा नभई अनौपचारिक रूपमा समन्वयमा जुटेको स्रोतले जनाएको छ । शनिबार बिहान खड्काले केन्द्रीय समिति बैठकमा उठेका विवाद र छलफलका निष्कर्षबारे देउवालाई जानकारी गराएपछि देउवाले प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत शीर्ष नेताहरूसँग भेट गर्दै समस्या ‘मिलाएर अघि बढ्ने’ सुझाव दिएका थिए।

देउवाले आइतबार संस्थापन पक्षका सातजना पूर्वपदाधिकारीसँग पनि छलफल गर्ने तयारी गरेका छन्। तीमध्ये विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र डा. महत रहेका छन्। यी नेताहरूले १५औँ महाधिवेशन प्रतिनिधिसभा चुनाव (फाल्गुन २१)पछि गर्नुपर्ने अडान राख्दै आएका छन्।

यता कांग्रेस संस्थापनइतर समुह डा. शेखर कोइराला समूह र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा समूह भने चुनावअघि नै महाधिवेशन हुनुपर्ने माग राख्दै बहसमा छन् । यही मतभेदका कारण असोज २८ देखि चलिरहेको केन्द्रीय कार्यसमिति बैठक निष्कर्षविहीन बनेको छ।

देउवाको ‘समन्वय गरेर अघि बढ्ने’ सन्देशपछि कार्यवाहक सभापति खड्काले शनिबार ललितपुरस्थित हिमालय होटलमा गगन थापा, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक र धनराज गुरुङसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर सहभागी नेताहरूका अनुसार दुवै पक्षको भेलाले ठोस नतिजा निकाल्न सकेको छैन् ।

कांग्रेसभित्र जेनजी आन्दोलनपछि सबैभन्दा बढी महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको भएको छ । उनीहरुले पार्टी एकताको विषय बहसमा रहेको बेला विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर मात्र गरेनन् उनीहरुले सामाजिक संजालबाट समेत नयाँ कांग्रेस नयाँ नेपालको नारा अघि बढाएपछि उनीहरुको नयाँ रणनीति पार्टी फुटाउने भएको टिप्पणी हुन थालेको छ । उपचारको क्रममा सिंगापुर जाँदा सभापति देउवाले का.वा सभापतिको जिम्मेवारी पूर्ण बहादुर खड्कालाई दिएका थिए । तर उनले पनि महाधिवशेनको मिति टुङ्गो लगाउन नसकेपछि अब सभापति देउवाले नै आन्तरिक विवाद मिलाउने संकेत देखा पर्न थालेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *