राजनीति

सहमहामन्त्री चौधरीको गगन थापामाथि प्रश्नः हस्ताक्षर गरेर पार्टी फुटाउन खोज्ने कसरी क्रान्तिकारी ?

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको हस्ताक्षर अभियानले चर्को राजनीतिक ताप सिर्जना गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले महामन्त्री गगन थापातर्फ इङ्गित गर्दै तीव्र आलोचना गरे।

बैठकमा चौधरीले नाम नलिईकन भने, “जसले हस्ताक्षर गर्छ ऊ क्रान्तिकारी, जसले गर्दैन ऊ प्रतिगामी? ” भन्दै पार्टीभित्रको अभिव्यक्तिले संगठनलाई विभाजनतिर धकेलिरहेको टिप्पणी गरे। उनका अनुसार विशेष महाधिवेशनको नाममा देशभरका कार्यकर्तालाई ‘सिग्नेचर गर्ने’ र ‘नगर्ने’ भनेर दुई खेमामा बाँड्ने प्रवृत्ति अस्वीकार्य छ। उनले थपे, “असहमति जनाउनेहरूलाई आपराधिक दृष्टिले हेर्नु संस्थागत संस्कारको अपमान हो।”

सहमहामन्त्री चौधरीले गगन थापा पक्षप्रति व्यंग्य गर्दै भने, “जेनजी आन्दोलनअघि सभापतिसँग मन्त्रालय र भ्रातृ संस्थामा भागबन्डा लिने, अनि पछि आफूलाई क्रान्तिकारी देखाउनेरु यो नैतिकताको राजनीति होइन।” उनले विशेष महाधिवेशनका नाममा कांग्रेसभित्र अविश्वास र असन्तोष फैलाउने प्रयास पार्टी एकताको विरुद्ध रहेको चेतावनी दिए।

कांग्रेसभित्र हाल विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान तीव्र बनेको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका युवा नेताहरूले नयाँ नेतृत्व र संरचनागत सुधार आवश्यक भन्दै अभियान अघि बढाइरहेका छन्। तर सभापति शेरबहादुर देउवा पक्षले यसलाई पार्टी विभाजनतर्फ लैजाने कदमको रूपमा लिएको छ।

सहमहामन्त्री चौधरीको यस अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई अझ खुला बनाएको छ। विशेष महाधिवेशनको अभियानले अब केवल संगठनात्मक मात्र होइन, विचारगत टकरावमा पनि रूप लिँदै गएको देखिन्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *