जलश्रोत/उर्जा

विद्युत नियमन आयोग अन्तर्राष्ट्रियस्तरको नियामक निकाय बनाउने अध्यक्ष धितालको घोषणा

काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आयोगलाई अन्तर्राष्ट्रियस्तरको नियामक निकाय बनाउने प्रतिबद्धतासहित काम थालेका छन् । साढे तीन दशक ऊर्जा क्षेत्रका विभिन्न निकायमा रहेर सेवा पुर्‍याउँदै आएका ऊर्जाविज्ञ धितालसँग चार वर्ष वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनेर सफल रूपमा कार्यकाल पूरा गरेको अनुभव पनि छ ।

ऊर्जासम्बन्धी नीति निर्माण, यसको सहजीकरण र ऊर्जा कूटनीतिमा राम्रो दख्खल राख्ने धिताल करिब तीन वर्षअघि पनि आयोग सदस्यको जिम्मेवारीमा थिए । आफ्ना विगतका अनुभवका आधारमा आयोगलाई विद्युत् क्षेत्रमा अन्तर्राष्ट्रि स्तरको नियामक निकाय बनाउने गरी काम अघि बढाएको उनले बताएका छन् ।

आयोगले विशेषतः विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारको क्षेत्रलाई नियमन गर्ने हो । उपभोक्ता अधिकार सुनिश्चित गराउने, सेवा प्रदायकलाई दिने सेवामा गुणस्तरीयता कायम गराउने, सेवा प्रदायकको वित्तीय अवस्था खलबलिन नदिने र लगानीकर्ताको लगानी सुरक्षित तथा सुनिश्चित गर्ने विषय आयोगको मूल सिद्धान्तभित्र पर्छ । र, आफू त्यही सिद्धान्तअनुसार अघि बढेको उनको भनाइ छ ।

लगानीकर्ता, सेवाप्रदायक र उपभोक्ताले आयोगका कारण नियमकीय सहजता प्राप्त गरुन् भन्ने उद्देश्यले आफूले काम गरिरहेको उनको भनाइ छ । उपभोक्ताले नियमित, भरपर्दो र गुणस्तरीय बिजुली पाउन् र लगानीकर्ताको मनोबल बढोस्, सेवाप्रदायकले अनावश्यक जोखिम मोल्नु नपरोस् भन्ने जस्ता सैद्धान्तिक दृष्टिकोणलाई मार्गदर्शन मानेर हामी अघि बढाएको उनले बताए ।

आयोगलाई राजनीतिक प्रभावबाट टाढा राखी पूर्ण व्यावसायिक र नतिजामुखी संस्था बनाउने उनको अठोट छ । आगामी वर्षहरूमा आयोगले डिजिटल प्रणालीमार्फत काम गर्ने, सेवाग्राहीलाई सहज पहुँच दिलाउने र ‘डकुमेन्ट ट्र्याकिङ सिस्टम’ जस्ता प्रविधि लागू गर्ने योजना रहेको उनले बताएका छन् । एमसीसी, एडीबी र विश्व बैंकको सहयोगमा ‘रिगुलेटरी म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए। विद्युत् मूल्य निर्धारण, खुला प्रसारण पहुँच, क्षेत्रीय विद्युत् बजार विस्तार र निजी लगानी आकर्षणका लागि आयोगले सक्रिय भूमिका खेल्ने उनको भनाइ छ ।

‘नेपालमा विश्वसनीय र सम्मानित विद्युत् नियामक निकाय छ भन्ने प्रमाणित गर्ने हाम्रो लक्ष्य हो,’ धिताल भन्छन्, ‘हामी अर्को पाँच वर्षभित्र विद्युत् नियमन आयोगलाई ऊर्जा क्षेत्रको उत्कृष्ट नमुना संस्था बनाउनेछौँ।’

विद्युतको आन्तरिक र बाह्य बजार विस्तारमा पनि आयोगको विशेष भूमिका रहने उनको भनाइ छ । ‘विशेषतः हामी क्षेत्रीय विद्युत् बजारमा जान सीमापार प्रसारण लाइन, सबस्टेसनलगायत पूर्वाधारहरू अन्तर्राष्ट्रियस्तरको हुनुपर्दछ । बजारमा किन्ने र बेच्नेबीचको प्रतिस्पर्धा हुन्छ । यसका लागि प्रसारण लाइन राष्ट्रिय राजमार्ग हो । प्रतिस्पर्धी वातावरण बनाउन खुला पहुँच दिनुपर्छ । प्रसारण नेटवर्कमा उपभोक्ता, पावर उत्पादक, व्यापारीलाई पहुँच दिने हो । निकट भविष्यमा हाम्रो पहिलो प्रयास यस्तो पहुँच दिने हुनेछ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *