काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछिको अशान्त वातावरणलाई नियन्त्रणमा ल्याउँदै देशको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको दाबी गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार बोलेका मन्त्री अर्यालले भने, “करिब दुई महिनाको अवधिमा सरकारले शान्ति सुरक्षालाई स्थायित्वतर्फ फर्काउन सफल भएको छ।”
उनका अनुसार गृह मन्त्रालयले प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनःस्थापना गर्ने, फरार कैदी फिर्ता ल्याउने र नागरिकलाई सुरक्षा सहयोग पुर्याउने कामलाई प्राथमिकतामा राखेको छ।
क्षतिग्रस्त प्रहरी युनिट र कार्यालय पुनः सञ्चालनमा
आन्दोलनका कारण क्षति पुगेका ४६५ वटा प्रहरी युनिटमध्ये ४४८ वटा पुनः सञ्चालनमा ल्याइएका छन्। साथै, १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि फेरि सुचारु गरिएको मन्त्री अर्यालले जानकारी दिए।
सुरक्षा जोखिम भएकाहरूका लागि सहायता कक्ष
जेनजी आन्दोलनका क्रममा सुरक्षाको जोखिममा परेका नागरिकहरूका लागि गृह मन्त्रालयमा विशेष सहायता कक्ष स्थापना गरिएको उनले बताए। “जोखिममा परेकाहरूलाई तत्कालीन सहयोग र सुरक्षित पुनर्स्थापनाको वातावरण मिलाइएको छ,” मन्त्री अर्यालले भने।
पक्राउ र मुद्दा दर्ता
प्रदर्शनमा उच्छृङ्खल गतिविधिमा संलग्न ४२९ जना पक्राउ परेका छन् र तीमध्ये विभिन्न आरोपमा १६८ मुद्दा दर्ता भएको उनले समितिलाई जानकारी गराए।
फरार कैदी फिर्ता
देशभरका कारागारहरूबाट आन्दोलनका बेला १४ हजार ५५४ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना फिर्ता ल्याइएको मन्त्री अर्यालले बताए। उनका अनुसार अझै ५ हजार १३ जना कैदी फरार छन्, जसको खोजी जारी छ।
‘रक्तपात दोहोरिन नदिने प्रतिबद्धता’
वर्तमान सरकार गठनका बेला देश अशान्त र अनिश्चित अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै मन्त्री अर्यालले भने, “त्यो समय पुनः रक्तपातपूर्ण अवस्था दोहोरिन सक्छ भन्ने डर थियो, तर सरकारले संयम र दृढताका साथ स्थिति नियन्त्रणमा ल्यायो।”
गृहमन्त्री अर्यालले अन्त्यमा भने, “अबको प्राथमिकता स्थायित्व, सुरक्षा संयन्त्र सुदृढीकरण र जनविश्वास पुनर्स्थापनामा केन्द्रित हुनेछ।”



