काठमाडौं । प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस भने अझै आन्तरिक विवादमै फसेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतेदेखि लगातार जारी भए पनि महाधिवेशनको मिति टुंग्याउन नसक्दा कांग्रेसको तयारी शून्यजस्तै देखिएको छ। अन्य राजनैतिक दलहरुले भने आगामी निर्वाचनमा जानका लागि विभिन्न निर्णय र जनताकासामु अघि बढिसकेका छन् । तर कांग्रेस संस्थापनइतर समुह भने विशेष महाधिवशेनको खोजीमा हस्ताक्षर संकल्नमा लागि परेको छ ।
आज सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ। तर, अघिल्ला बैठकहरूजस्तै आज पनि नेताहरूबीच मतैक्य हुने सम्भावना कम देखिएको छ।
महाधिवेशन कहिले ? मतभेद झनै तीव्र
बैठकमा दुई धार स्पष्ट बनेका छन् — सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्नुपर्ने मत राख्दै आएको छ भने गगन थापा र विश्वप्रकाश शर्मासहितका संस्थापनइतर नेताहरूले पहिले महाधिवेशन, त्यसपछि चुनाव भन्ने अडान लिएका छन्।
विजयकुमार गच्छदार, विमलेन्द्र निधि, डा. शशांक कोइराला र रमेश लेखकलगायत नेताहरूले चुनावपछिको महाधिवेशनको पक्षमा उभिएका छन् । यस्तै कांग्रेस केन्द्रीय समिति तथा नेविसंघका पूर्वअध्यक्ष जितजंग बस्नेत र उनका समर्थकहरूले “महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोज्दैछन्” भन्दै विशेष महाधिवेशनको मागलाई छोडेर नियमित महाधिवेशनलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् ।
बस्नेतले बैठकमा तीव्र आलोचना गर्दै भने, “क्रियाशील सदस्यता नवीकरण नै अधुरो हुँदा चुनाव कसरी सम्भव हुन्छ ? मिती तोक्नु मात्र देखावटी काम हो।” उनले पार्टीभित्र सत्य बोल्ने संस्कार हराउँदै गएको बताउँदै नेतृत्वको मौनतामाथि पनि प्रश्न उठाउादै आएका छन् ।
‘देश जलिरहँदा विशेष महाधिवेशन किन ?
अर्कोतर्फ, केन्द्रीय सदस्य कल्याण गुरुङले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको प्रस्तावलाई असमयिक र अव्यावहारिक भन्दै प्रश्न उठाएका छन्। उनले लेखे, “देशभर आगलागी, अराजकता र अस्थिरता छ, सभापति देउवा उपचाररत छन्, यतिबेला विशेष महाधिवेशन किन आवश्यक भयो ? ” गुरुङले पार्टीका महामन्त्रीहरूलाई पनि जवाफदेही हुन आग्रह गर्दै भने, “निर्णय प्रक्रियामा सहभागी भएर अहिले सभापतिको दोष मात्रै देखाउनु नैतिक दृष्टिले स्वीकार्य छैन।” उनका अनुसार महामन्त्री गगन थापाले पछिल्लो समय पार्टीभित्र हाइज्याक र हमलाको बाटो अपनाउनकै लागि विशेष महाधिवेशनको धारणा सार्वजनिक गदै आएका छन् ।
सामाजिक सञ्जालमै ‘भित्रघात’ को खेल
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोपलाई आत्मघाती भनेका छन्। उनका अनुसार, “सहकर्मीलाई होच्याउने प्रवृत्ति बढ्दै जाँदा संगठन कमजोर बन्छ र एकता जोखिममा पर्छ।”उनले बैठकमा सबै नेता महाधिवेशनको आवश्यकता स्वीकार गरे पनि ‘समय र तयारी’ मा सहमति नबनेको बताए।
पुनर्स्थापना कि निर्वाचन ?
सांसद श्यामकुमार घिमिरे नेतृत्वको समूह भने संसद पुनर्स्थापनाको पक्षमा छ। तर, गगन थापा र डा. शेखर कोइराला समूहले त्यसलाई प्रतिक्रियात्मक कदम भन्दै निर्वाचनमै जानुपर्ने धारणा राखेका छन्। थापाको भनाइमा, “संविधानको आत्मा जनताको मत हो, अदालतको आदेश होइन।”
विश्लेषकहरूका अनुसार राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसभित्रको यो लम्बिएको विवाद केवल महाधिवेशनको मितीको होइन, नेतृत्व सन्तुलन र भविष्यको सत्ता समीकरणको संकेत पनि हो। यदि पार्टीले छिट्टै स्पष्ट निर्णय गर्न सकेन भने, निर्वाचन तयारी मात्र होइन, संगठनको विश्वसनीयता पनि कमजोर हुने उनीहरूको चेतावनी छ।
अब प्रश्न एउटै छ — कांग्रेस महाधिवेशनको निर्णयमा पुग्छ कि चुनावमै अल्झिन्छ ?
देशको राजनीतिक घडी चल्दैछ, तर कांग्रेसको भित्री निर्णय अझै ‘स्थगित मोड’ मै छ।



