काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले लामो समयदेखि रोकिएको विद्युत् बक्यौता असुलीमा प्रगति भएको भन्दै सबैलाई धन्यवाद दिएका छन्। उनले भने, “विगतमा बक्यौता उठाउने प्रयास गर्दा रोकिएँ, अहिले निर्णायक जिम्मेवारीमा रहेर उठाउन सफल भएँ।”
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घिसिङले ‘डेडिकेटेड र ट्रङ्क लाइन’ प्रयोग गर्ने उद्योगहरूले तोकिएको प्रिमियम महसुलको पहिलो किस्ता अधिकांशले तिरेको जानकारी दिएका छन्। उनका अनुसार यससँगै बक्यौता असुली अब नयाँ चरणमा प्रवेश गरेको छ।
घिसिङले लेखेका छन्, “राजनीतिक हस्तक्षेप र अवरोधका कारण वर्षौंदेखि रोकिएको महसुल उठाउने प्रक्रिया अब ठोस नतिजातर्फ अघि बढेको छ। राज्यको सम्पत्ति उठाउन नदिने प्रयास भए पनि जनचासो, निगरानी र खबरदारीले यसपटक सफल बनायो।”
उनले बक्यौता तिरेका उद्योगीहरूलाई धन्यवाद दिँदै सबै नागरिकलाई कर र महसुल तिर्ने जिम्मेवार बन्न आग्रह गरेका छन्। साथै, बक्यौता असुलीमा सहयोग पुर्याउने प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूप्रति पनि आभार व्यक्त गरेका छन्।
घिसिङको भनाइअनुसार, विद्युत् महसुल उठाउने यो कदम केवल आर्थिक मात्र नभई पारदर्शिता र जिम्मेवारीको संस्कृतितर्फको निर्णायक मोड हो।




