देश

दानबहादुर कार्कीले सम्हाले नेपाल प्रहरीको नेतृत्व, आईजीपीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार औपचारिक रूपमा दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरेका हुन्।

गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए।

अघिल्ला महानिरीक्षक चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको नेतृत्व कार्कीले सम्हालेका हुन्। खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्कीले यसअघि काठमाडौं उपत्यका प्रहरी कमाण्ड, लुम्बिनी प्रदेश प्रहरी, मानव स्रोत साधन विभाग लगायतका महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। काठमाडौं प्रहरी प्रमुखका रूपमा रहँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहेको बेला उनले संयम र इमान्दारिताका साथ काम गरेको सहकर्मीहरू बताउँछन्।

फिल्डदेखि आईजीपी सचिवालयसम्मको लामो अनुभव भएका कार्की इमान्दार, निष्पक्ष र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले विदेशमा विभिन्न तालिम लिइसकेका छन् र एक समय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको भूमिका पनि सम्हालेका थिए।

कार्कीको नियुक्तिसँगै नेपाल प्रहरी नेतृत्वमा नयाँ ऊर्जा र कार्यशैली आउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *