देश

विकासका मोडेल र दिर्घकालीन भिजनविहीन जेनजी समुह , विभिन्न चिरामा विभाजित

काठमाडौं । नेपालको नयाँ पुस्ता, जसलाई “जेनजी पुस्ता भनेर चिनिन्छ, गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक मञ्चमा पहिलोपटक एक सशक्त सामाजिक शक्ति रूपमा उदायो। देशमा विद्रोही आन्दोलन र तोडफोड बाट उदाएको जेनजी समुह दिशाहीनता, विभाजन र दीर्घकालीन भिजनको अभाव विभिन्न चिरामा विभाजित छ । जेनजी आन्दोलनले सरकारी तथा व्यक्तिगत सम्पति र संरचनामाथि आग्जनी,तोडफोड र राँको झोस्ने काम मात्रै गरेर विश्वको सम्पदा सुचीमा परेको सिंहदरबार,संसद भवन,काठमाडौं जिल्ला अदालत,सर्वोच्च अदालत,विभिन्न राजनैतिक दलका शीर्ष नेताहरुका घरमा आगो लगायो ।

हजारौँलाई घरविहीन बनायो । जनताको सुरक्षामा खटिएका नेपालप्रहरीका हातहतियार लुटपाट, उनीहरुमाथि आक्रमण गर्दा त तीन जना नेपाल प्रहरीको नै ज्यान गएको थियो खर्बौको सरकारी तथा नीति सम्पतीको मात्र क्षेति गरेर ७६ जनाको ज्यान समेत गयो । अझै पनि जेनजी समुहरु सचेत देखिदैँनन्,अझैँ आन्दोलनको धम्की दिदैँ आएका छन् । पछिल्लो समय त जेनजी आन्दोलनकारीका विभिन्न समुहले सार्वजनिक स्थानमैँ नागरिकहरुलाई सुरक्षाकर्मीहरुलाई धम्क्याउन थालेको प्रष्टै देखिन्छ ।यो पुस्ताले पुराना राजनीतिक दलहरूको भ्रष्टाचार, निष्ठाहीनता र अवसरवादको प्रतिवाद त गर्‍यो, तर विकल्प निर्माणका सन्दर्भमा अझै अलमलमा देखिन्छ।

भदौको दुई दिने विध्वंशकारी आन्दोलनले राजधानीदेखि गाउँसम्म नयाँ जागरणको लहर फैलायो। नैतिक र बौद्धिक पाटोबाट जेनजी आन्दोलन भने भएको होइन् । तर त्यसपछिका दिनहरूमा एउटै नारा बोकेर सडकमा उत्रिएका ती युवाहरू दर्जनौँ “जेनजी” समूहहरूमा विभाजित भएका छन् — जेनजी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्स, जेनजी युनाइटेड मुभमेन्ट परिवर्तन, हामी नेपाल, कमन जेनजी नेपाल, जेनजी एकता अभियान नेपाल, आदि। यी सबैको साझा नारा भनेको “परिवर्तन” हो, तर परिवर्तनको परिभाषा हरेक समूहको आफ्नै छ। कोही संघीयता खारेजको पक्षमा छन्, कोही प्रत्यक्ष निर्वाचित प्रणालीको समर्थनमा, र कोही “जनताको नयाँ संविधान” को मागमा। आन्दोलनको तातो जोश, संगठनमा बदलिनु पर्ने बेला उनीहरू नेतृत्व र दिशामै अल्झिएका छन्। जेनजी युवापुस्ताहरुले आजको एक्काइसौँ शताब्दीमा नेपालमा विकासको मोडेल,आर्थिक वृद्धिदर, सुशासन,समावेशी न्याय,निष्पक्षता पारदर्शीता देखाउन बौद्धिकता र नैतिकतालाई प्रयोगचाँही गर्नेपर्छ ।

जेनजी फ्रन्ट :रक्षा बमको नेतृत्वमा रहेको जेनजी फ्रन्ट अहिले सबैभन्दा संगठित समूहका रूपमा चर्चामा छ। यसले सातै प्रदेशमा संयोजक तोकेको छ, राजनीतिक संवाद र वार्तामा सक्रिय छ, र केही सदस्यहरू त सरकारका सचिवालयसम्म पुगेका छन्। तर यो समूहमाथि आलोचना पनि उत्तिकै छ — यसले “युवा आन्दोलनलाई पुनः पुरानै सत्ताको घेरामा तान्ने प्रयास गरेको” आरोप छ। फ्रन्टका केही सदस्यहरू पूर्व–राजनीतिज्ञहरूसँग निकट देखिनुले यसको “स्वतन्त्र आन्दोलन” भन्ने दाबी कमजोर भएको विश्लेषण छ।

जेनजी मुभमेन्ट अलायन्स : मोनिका र अमित खनाल ‘ऊर्जा’ को नेतृत्वमा रहेको जेनजी मुभमेन्ट अलायन्स ले राजनीतिक मुद्दाहरूमा सशक्त अभिव्यक्ति दिँदै आएको छ। तर, “के गर्न चाहन्छ” भन्दा पनि “के नचाहने” भन्ने विरोधमै यसको सिमितता देखिन्छ। मधेश प्रदेशमा भएको विवादित शपथ ग्रहण प्रकरणको विरोधले यसलाई चर्चामा ल्यायो, तर दीर्घकालीन नीति र कार्ययोजना भने अझै स्पष्ट छैन। राजनीतिक विश्लेषकहरु भन्छन्,“जेनजी अलायन्सले विद्रोही स्वर त बुलन्द गरेको छ, तर विद्रोहपछि के गर्ने भन्ने खाका छैन — यो नै आन्दोलनको कमजोरी हो।”

जेनजी युनाइटेड मुभमेन्ट परिवर्तन : सशक्त अभियान, कमजोर प्रचार
यो समूह संगठन र कार्यमा सशक्त देखिए पनि प्रचारमा कमजोर छ। पूर्वी नेपालदेखि दक्षिण कोरियासम्म शाखा विस्तार गरिसकेको भए पनि नेतृत्वको अस्पष्टता र मिडियाबाट टाढा बस्ने रणनीतिले यसको प्रभाव कम देखिन्छ। सडक नाटक, सांस्कृतिक अभियान र घाइते आन्दोलनकारीको उपचारजस्ता कामले यस समूहलाई “कार्यमा केन्द्रित तर अदृश्य शक्ति” को रूपमा चिनाएको छ। तर यिनको समस्या पनि उही हो — दृढ नीतिगत स्थायित्वको अभाव।

सुदन गुरुङको ‘हामी नेपाल’ : चर्चित, तर विवादित नेतृत्व

‘हामी नेपाल’ र ‘द काउन्सिल अफ जेनजी’ सुदन गुरुङको प्रभावमा सञ्चालन भइरहेका छन्।
गुरुङ करिश्माई र चर्चित युवा अभियन्ता हुन्, तर उनीमाथि “राजनीतिक हस्तक्षेपकारी” र “व्यक्तिकेन्द्रित” अभियान सञ्चालन गरेको आरोप छ। उनका नजिकका केही सदस्यहरू सरकारी निकायमा पुगेका छन्, जसले आन्दोलनको “स्वतन्त्रता र निष्पक्षता” माथि प्रश्न उठाएको छ। बारबारा फाउन्डेसबाट संचालित भएको उनीमाथि आरोप छ । उनको नागरिकताको विषयमा समेत प्रश्न चिह्न उठिसकेको भए पनि सम्बन्धीत निकायले छानबिन गर्ने विषयमा कदम अगाडी बढाउन असमर्थ छ । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकै नजिकको सम्बन्ध छ । त्यसैले मेयर बालेन र गुरुङ अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालाई बारम्बार दबाब दिदैँ आएका छन् । अन्तरिम सरकारले सो आन्दोलनका क्रममा तोडफोड,आगजनी जस्ता कार्यक्रमा संलग्न रहेकामाथि कारबाही प्रक्रिया अगाडी बढाउन लागेपछि अन्तरिम सरकारमाथि उनी दबाबमा उर्तेको आरोप छ ।

कमन जेनजी नेपाल :विकेश साहको नेतृत्वमा रहेको कमन जेनजी नेपाल ले राष्ट्रिय भेला सम्पन्न गरेर देशभरि संयोजक तोकेको छ। सातै प्रदेशमा संरचना विस्तार र “अन्तरिम संविधान निर्माण” को माग गर्दै यसले राजनीतिक वैकल्पिक सरकारको प्रस्तावसमेत अघि सारेको छ। तर आलोचकहरू भन्छन् —“राजनीतिक रूपरेखा तयार पार्नेभन्दा पहिले नै सत्ताको स्वरूप तय गर्ने हतारले यो समूह पनि अवसरवादी बन्न सक्छ।”

मिराज ढुंगानाको ‘गरिखान देऊ अभियान’ : व्यावहारिक मुद्दा, सीमित प्रभाव
‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली’ र ‘रोजगारी’ जस्ता ठोस मुद्दा उठाएर मिराज ढुंगानाले जनतामाझ लोकप्रियता कमाएका छन्। तर उनले बनाएको अभियानले ठोस राजनीतिक र वैचारिक संरचना पाउन सकेको छैन। ढुंगानाका अनुसार “हामी चुनावका लागि होइन, प्रणाली परिवर्तनका लागि लड्दैछौं।” तर राजनीतिक विश्लेषकहरू भन्छन् — “संविधानिक प्रक्रियाबिना प्रणाली परिवर्तन सम्भव छैन, ढुंगानाको नारा लोकप्रिय हो तर व्यावहारिक छैन।”

जेनजी एकता अभियान नेपाल’ : सात वटा जेनजी समूहबीच मिलेर बनेको ‘जेनजी एकता अभियान नेपाल’ ले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै राजनीतिक दबाब सिर्जना गरेको थियो।
तर “एकता” को घोषणा गरे पनि, आन्तरिक तालमेल र साझा नेतृत्वको अभावले यो गठबन्धन टिक्न सकेन। संयोजक सुप्रिया नेपालीले भन्छिन् —“हामी जनताको भावनाअनुसार काम गर्न नसक्ने सरकारलाई चुनौती दिन तयार छौं।” तर जनताको विश्वास जित्न भने उनीहरू असफल देखिन्छन्।

विभिन्न नाम, नारा र उद्देश्य लिएर बनेका यी समूहहरूले एउटै कुरा चाहन्छन् —“नयाँ नेपाल र नयाँ प्रणाली।”तर एक–अर्कालाई विश्वास गर्न नसक्दा र आन्तरिक शक्ति संघर्षले उनीहरूकै आन्दोलनलाई कमजोर बनाएको छ। जेनजी युनाइटेड मुभमेन्ट परिवर्तनकी ज्योतिका फुर्केली भन्छिन्, “हामी सबैलाई एक ठाउँमा ल्याउने प्रयास गर्‍यौं, तर कसैले पनि आफ्नो सानो घेरा पार गर्न चाहेन।” त्यही मानसिकता नै आज जेनजी आन्दोलनको सबैभन्दा ठूलो चुनौती बनेको छ।

जेनजी पुस्ताले पुराना दलहरूलाई चुनौती दिने हिम्मत त देखाएको छ, तर राजनीतिक दृष्टि, दीर्घकालीन रणनीति र साझा दृष्टिकोण बिना यो आन्दोलन केवल क्षणिक ऊर्जा बन्ने खतरा छ। नेपालको राजनीति अहिले संक्रमणकालको अर्को चरणमा छ — यदि जेनजी पुस्ताले संगठनात्मक र नीतिगत परिपक्वता हासिल गर्न सकेन भने, यो पुस्ता इतिहासमा “परिवर्तनको आवाज” होइन, “अवसर गुमाउने पुस्ता” का रूपमा दर्ज हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *