देश

काँग्रेसभित्रको सामाजिक सञ्जाल गतिविधि आत्मघाती : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि आरोप–प्रत्यारोप र सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको यस्ता प्रवृत्तिले संगठन कमजोर हुने र पार्टीको एकता प्रभावित हुने चेतावनी दिए।

प्रवक्ता महतका अनुसार जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन चाँडोभन्दा चाँडो गर्नुपर्ने विषयमा नेताहरूबीच एकमत भए पनि सहमति टुंगोमा पुग्न बाँकी छ। उनले भने, “महाधिवेशन गर्नुपर्छ भन्नेमा सबै सहमत छौँ, तर राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र त्यसका लागि आवश्यक तयारी पुगेको छ कि छैन भन्ने विषयमै छलफल केन्द्रित छ।”

उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय आउने विश्वास व्यक्त गरे। महतले थपे, “पार्टीभित्रबाट सामाजिक सञ्जालमा नियोजित रूपमा लाञ्छना लगाउने र आफ्ना साथीहरूलाई होच्याउने प्रवृत्ति आत्मघाती हो भन्ने कुरा मैले बैठकमै उठाएको थिएँ।”

उनका अनुसार सरकारले वातावरण तयार पारेमा पार्टी आगामी निर्वाचनमा सहभागी हुनेछ, अन्यथा संसद पुनःस्थापनाको मागलाई दृढताका साथ अघि बढाउने विषयमा बैठकमा साझा धारणा बनेको छ।

यसबीच, आगामी महाधिवेशनबारे काँग्रेसभित्र मतभेद तीव्र बन्दै गएको छ। संस्थापन पक्षले राष्ट्रिय निर्वाचनअघि महाधिवेशन गर्न असम्भव बताउँदै आएको छ भने दुई महामन्त्री र संस्थापनइतर नेताहरू नयाँ नेतृत्व लिएर चुनावमा जाने अडानमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *