राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिमा एउटै एजेण्डा, महाधिवेशनको मिति टुङ्याउनै मुस्किल !

 

काठमाडौं। नेपाली कांग्रेसभित्र पार्टीको महाधिवेशनको मिति टुङ्याउने विषयले फेरि तहल्का मच्चाएको छ। कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विवादले केन्द्रीय कार्यसमितिलाई अझै एकरूप पार्न सकेको छैन। पार्टीभित्र महाधिवेशनका विषयमा फरक–फरक धारणा प्रस्तावहरु आउने गरेपनि कांग्रेसले संस्थापन पक्ष र इतरसमुहको प्रस्तावलाईृ नै अहिलेसम्म आधिकारिक मान्दै आएको छ ।

तीन दिनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार पुनः सुरु भएको हो। यो बैठक पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिन पछि धकेलिएको थियो । गत शनिबार आकस्मिक रूपमा बसेको बैठकमा नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो।

विश्लेषकका अनुसार, पार्टीभित्र महाधिवेशन मिति टुङ्याउन नसक्नुले नेतृत्वको कमजोरी र निर्णय प्रक्रियामा देखिएको अस्थिरतालाई प्रष्ट रुपमा देखाएको छ। कांग्रेसभित्रका कतिपय नेताहरूले का.वा सभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई समयमै महाधिवेशन सम्पन्न गराउन देउवाजस्तो गहन जिम्मेवारी बहन गर्न नसकेको भन्दै आलोचना गर्दै आइरहेका छन् ।

कांग्रेस बैठकमा मुख्य रूपमा दुईवटा मिति प्रस्तावित छन्। पार्टीको संस्थापन पक्ष र इतर समूहबीच सहमति जुटाउनको लागि प्रयास भइरहेका छन्। तर पार्टीभित्रको भित्री मतभेद र रणनीतिक असमानताका कारण सहमति जुटाउन चुनौतीपूर्ण देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, महाधिवेशन टुङ्याउन नसक्नु केवल आन्तरिक असहमतिको मात्र संकेत होइन, यो आगामी निर्वाचन र पार्टीको राष्ट्रिय छवि तथा नेतृत्व क्षमतामा समेत प्रश्न उठाउने विषय बनेको छ। कांग्रेसले यदि समयमै महाधिवेशनको मिति तय गर्न सकेन भने पार्टीभित्रको तनाव थप गहिरो हुने प्रबल सम्भावना रहेको छ।

बैठकको परिणाम र महाधिवेशनको अन्तिम मिति घोषणा हुन बाँकी नै छ, तर स्पष्ट छ कि कांग्रेसको लामो समयदेखिको एउटै एजेण्डा ‘महाधिवेशन’ आज पनि पार्टीका लागि राजनीतिक चुनौतीको रुपमा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *