काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा देखिएको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।
सोमबार उनले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पासँग बैठक गर्दै समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गर्न आग्रह गरेका हुन् । यसअघि आयोजना प्रभावित समुदायले विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति ठप्प भएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी छिन् र मन्त्रालयको जिम्मेवारी आफैं लिएकी छिन्। मन्त्री घिसिङले सरकार समस्या समाधानका लागि सक्रिय रहेको र सकेसम्म चाँडो पानी आपूर्ति पुनः सुरु गरिने बताएका छन्।
अर्कोतर्फ, हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले विगतमा भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने बताए। उनले मुख्यतया निम्न माग राखेका छन्ः
आयोजनाले लिएको जग्गा र घरभाडा सम्बन्धी मुआब्जा उपलब्ध गराउने,विगतको निर्माण व्यवसायी (सीएमसी) को आपूर्तिकर्तालाई भुक्तानी गर्ने,मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गर्ने।
मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त पानीको आधारमा उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापत २५ प्रतिशत विकास खर्च हेलम्बु गाउँपालिकालाई उपलब्ध गराउने।
त्यसैगरी, तत्कालीन खानेपानी मन्त्रीसँग २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र राजनीतिक दल प्रतिनिधिहरूबीच सहमति भएको थियो, जसको कार्यान्वयन अझै बाकी रहेको छ।
मन्त्री घिसिङ र गाउँपालिका अध्यक्षबीच भएको छलफलले सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको देखाएको छ, जसले काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति नियमित बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।




