राजनीति

महामन्त्री थापा र शर्मालाई केन्द्रीय सदस्य गुरुङको प्रश्नः देश जलिरहँदा विशेष महाधिवेशन किन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्रको विशेष महाधिवेशनको प्रस्तावलाई असमयिक र अव्यावहारिक भन्दै गम्भीर प्रश्न उठाएका छन् । उनले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई प्रत्यक्ष सोध्दै “देश र कांग्रेस दुवै कठिन मोडमा हुँदा विशेष महाधिवेशन किन आवश्यक भयो ?” भन्ने प्रश्न गरेका छन् । सोमबार उनले सामाजिक संजाल फेसबुकमा एक लामो पोष्ट गर्दै कांग्रेस भविष्य,देशको विकास, सुशासन, राष्ट्रिय एकताका बारेमा गहन विषय उठाएका हुन् ।

गुरुङले नेपाली कांग्रेसमा पछिल्ला दिनहरूमा देखिएको मतभेद, आन्तरिक बहस र विशेष महाधिवेशनको चर्चा लोकतान्त्रिक बहसको हिस्सा भए पनि अहिलेको विषम परिस्थितिमा त्यसले संगठनलाई कमजोर बनाउने चेतावनी दिएका छन। “देशभर आगलागी, आक्रमण र अराजकता फैलिएको बेला, सभापति र नेताहरू उपचाररत् हुँदा, संविधान र शासन प्रणाली प्रश्नचिह्नमा परेका बेला महाधिवेशन किन ?” उनले प्रश्न गरे ।

उनका अनुसार अहिलेको समय भावनामा होइन, विवेकमा आधारित निर्णयको समय हो।
“सभापतिको बगेको रगत सुक्न नपाउँदै महाधिवेशन बोलाउने कुरा राजनीतिक संवेदनशीलता र मानवीय मर्यादाको अपमान हो,” गुरुङको भनाइ छ।

महामन्त्रीहरू पनि जिम्मेवार

गुरुङले पार्टीको निर्णय प्रक्रिया र नीति निर्माणमा महामन्त्रीहरूको प्रत्यक्ष भूमिका रहेकाले अहिलेको अवस्थाको जिम्मेवारी उनीहरूबाट टार्न नमिल्ने तर्क गरेका छन् । “पार्टीका सबै निर्णयहरूमा महामन्त्रीहरू सहभागी थिए, उम्मेदवार टुंग्याउनेदेखि गठबन्धनमा भागबण्डा गर्नेसम्म उनीहरूकै संलग्नता थियो। अहिले सबै दोष सभापतिको टाउकोमा राखेर आफू चोखा रहन खोज्नु नैतिक दृष्टिले अस्वीकार्य छ,” उनले बताए ।

गुरुङले थपे , “यदि सभापतिले कार्यवाहक तोक्न सक्नुहुन्छ भने महामन्त्रीहरूले पनि आफ्ना सह–महामन्त्रीलाई कार्यवाहक जिम्मेवारी दिने नैतिक साहस देखाउन सक्नुपर्छ।”

‘विशेष महाधिवेशन विधानमै अस्पष्ट’

गुरुङले विशेष महाधिवेशनका सम्बन्धमा पार्टी विधान र नियमावलीमा पर्याप्त प्रष्टता नहुँदा वैधानिक जटिलता उत्पन्न हुने बताएका छन्। “विधानमा विशेष महाधिवेशनको काम, कर्तव्य र अधिकारको स्पष्ट व्याख्या छैन। नियमावलीमा हस्ताक्षर सनाखतदेखि अधिकार र पदावधिसम्मको कार्यविधि नबनेसम्म विशेष महाधिवेशन केवल आकाशको फल हो,” उनको भनाइ छ।

उनले महामन्त्रीहरूलाई सोध्दै भने, “तपाईंहरूले नियमावलीमा कार्यविधि किन नलेख्नुभयो ? सामाजिक सञ्जालमा लेखेर विशेष महाधिवेशन हुँदैन, त्यसका लागि वैधानिक मार्गचित्र चाहिन्छ।”

संविधान कार्यान्वयनमा असफलताको प्रश्न

केन्द्रीय सदस्य गुरुङले केवल पार्टीभित्रै होइन, राज्य सञ्चालनको स्तरमा पनि नेतृत्वले संविधानअनुसारका कानून निर्माण गर्न नसकेको स्पष्ट रुपमा बताए । “संविधानले तीन वर्षभित्र मौलिक अधिकारसहितका सबै कानून बनाउन भनिएको थियो, तर दशक बितिसक्दा पनि धेरै अधिकार जनताले उपभोग गर्न पाएका छैनन्,” उनले बताए ।

गुरुङका अनुसार पार्टीका सांसद र नेताहरूले यो असफलताको जिम्मेवारी लिनुपर्नेछ।
“संविधानमा लेखिएका मौलिक हकहरू कानूनी आधार नहुँदा कागजमा मात्रै सीमित छन्। सांसद भइसकेका महामन्त्रीहरूले यसको जवाफ दिनुपर्छ,” उनले भने।

‘विशेष महाधिवेशन अहिले उपयुक्त समय होइन’

गुरुङले हालको परिस्थितिमा विशेष महाधिवेशन पार्टी र देश दुबैका लागि घातक हुने चेतावनी दिए । “अहिले भावनामा बहेर निर्णय गर्नुभयो भने त्यसको दीर्घकालीन असर गम्भीर हुनेछ। आजको सानो गल्ती भोलि ठूलो पछुतो बन्न सक्छ,” उनले चेतावनी दिए । उनले महाधिवेशन प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गर्दै भने ,“महाधिवेशन केही व्यक्तिको स्वार्थ पूर्तिको माध्यम नबनोस्। यो समय संगठन सुदृढीकरणको हो, विभाजनको होइन।”

गुरुङको अनुसार विशेष महाधिवेशन कुनै भावनात्मक वा राजनीतिक मुद्दा मात्रै नभई कानूनी र वैधानिक विषय हो। “२०४८ सालपछि कुनै पनि पार्टीको विशेष महाधिवेशनले अदालत वा निर्वाचन आयोगबाट वैधानिकता पाएको उदाहरण छैन। त्यसैले अहिलेको परिस्थितिमा यस्तो निर्णय गर्ने समय होइन,” उनले अन्त्यमा भने ।

आदरणीय नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिज्युहरु,
जय नेपाल ।
नेपाल र नेपाली कांग्रेस भित्र देखिएको विषम परिस्थितिको सन्दर्भमा शब्दहरुमा अंकुरित प्रकाशमय मनोभावको उज्यालोमा मार्मिक किरणहरु मार्फत् तपांईहरुसंग सम्मानपुर्वक भावनात्मक संवाद गर्न चाहन्छु ।
नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन ठिक, विशेष महाधिवेशन बेठिक, पुषमा महाधिवेशन र चुनाव पछाडि महाधिवेशन भन्ने विषयमा तीब्र बहस प्रारम्भ भएको छ । यो स्वभाविक पनि हो । यि सबै विचारहरु नेपाल र नेपाली कांग्रेस प्रतिको चिन्ता, माया र स्नेहका कारणले गंभीर बहसको भूमिमा उजागर भएको हो । यस गंभीर बहसमा नेपाल र नेपाली कांग्रेसलाई माया गर्ने र सदभाव राख्ने आम बुद्धिजीविहरु देखी नेपालमा र बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा अन्तरआत्मा देखि नै उच्च सम्मानका साथ आभार प्रकट गर्न चाहन्छु ।
कुनै पनि समस्याको समाधानको विषयमा फरक मतहरु निर्माण हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । यिनै विविध विचार र कार्यनीतिको लोकतान्त्रिक विविधताको लागि हाम्रो पुर्खाहरु र हामीले बर्षौ संघर्ष गरेका हौं । अझै पनि निरन्तर संघर्ष गरिरहेका छौं र गरिरहनेछौं।
मेरो मात्रै विचार ठिक, अरु सबैको विचारहरु गलत भन्ने तीब्र एकांकी सोंचबाट माथि उठेर हामी लोकतन्त्रवादीहरुले सहमत र असहमत सबै विचारहरु र धारणाहरुको सम्मान गर्नु पर्छ ।
कसैको बारेमा तुच्छ कमेन्ट गर्दैगर्दा त्यसले कमेन्ट गर्ने मानिसको बौद्धिक ऊंचाईलाई समाजले नापी रहेको हुन्छ र उचित समयमा समाजको बिचमा प्रष्ट पारिदिन्छ । हाम्रा हरेक क्रियाकलापहरुलाई समाजले सूक्ष्मरुपले नियाली रहेको हुन्छ भन्ने सत्यलाई हामी सबैले आत्मार्थ आत्मसात् गरौं ।
नेपाली कांग्रेस भित्र धेरै विद्वान र संघर्षशील अग्रज र साथीहरु हुनुहुन्छ । म सबै साथीहरुको पवित्र र असल भावनाहरुको सम्मान गर्छु । तर मलाई पार्टीका विद्वान र संघर्षशील अग्रज र साथीहरुलाई केही प्रश्नहरु विनम्रतापुर्वक सोध्न मन लागि रहेको छ, आशा छ कि म अनुत्तरित हुने छैन ।
नेपाल जलिरहेको समयमा विशेष महाधिवेशन किन ?
सिंहदरबार, सर्वोच्च अदालत, अदालतहरु, सरकारी कार्यालयहरु र प्रहरी कार्यालयहरु जलि रहंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय देखि प्रदेश कार्यालय र जिल्ला कार्यालय हुंदै बिभिन्न तहका कार्यालयहरु जलेर खरानी हुंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निवास देखि अनेकौ नेताहरु र साथीहरुको निवास जलेर खरानी हुंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय सभापति आदरणीय श्री शेरबहादुर देउवा र आदरणीय केन्द्रीय सदस्य श्रीमति डा. आरजु राणा देउवा माथि सांघातिक आक्रमण भई रगताम्य भएर अस्पतालमा उपचार गराई रहेको समयमा विशेष महाधिवेशन किन ?
आदरणीय सभापतिको बगेको रगतको टाटो सुक्न नपाउदै विशेष महाधिवेशन किन ?
देशभरिका व्यापारिक केन्द्र तथा व्यापारी र उधोगपतिहरुको घरमा आक्रमण र आगलागी भएको समयमा विशेष महाधिवेशन किन ? नेपालको संविधानले राम्रोसंग काम गर्न नसकिरहेको अवस्थामा विशेष महाधिवेशन किन ?
प्रतिनिधि सभा विघटन भएको समयमा विशेष महाधिवेशन किन ? लोकतान्त्रिक व्यवस्था माथि कालो बादल मडारिएको समयमा विशेष महाधिवेशन किन ?
नियमित महाधिवेशनको मुखमा विशेष महाधिवेशन किन ?
फाल्गुन २१ गते निर्वाचन घोषणा भईसकेको समयमा विशेष महाधिवेशन किन ?
देशको विषम परिस्थिति, समस्या र निराकरणका उपायहरुको वारेमा गंभीर छलफल गर्नु पर्ने समयमा विशेष महाधिवेशन किन ?
जलेका भौतिक संरचनाहरुको निर्माण र पुनर्निर्माण गर्नु पर्ने र मानिसको खस्केको मनोबल उठाउन पुनर्जागरण गर्नु पर्ने समयमा विशेष महाधिवेशन किन ? आदरणीय सभापतिले कार्यवाहक दिई सके पछि पनि विशेष महाधिवेशन किन ?
मेरा यि प्रश्नहरुको जवाफ नरिसाईकन दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
नेपाली कांग्रेसको विधानले सभापति, महामन्त्री र कोषाध्यक्षलाई कार्यकारी अधिकार दिएको छ । उम्मेदवार सम्बन्धि निर्णय केन्द्रीय संसदीय समितिबाट र अधिकांश निर्णयहरु कार्य सम्पादन समितिको बैठकबाट निर्णय भएर कार्यान्वयनमा गईसकेपछि केन्द्रीय कार्य समितिमा अनुमोदनको लागि निर्णयार्थ प्रस्तुत गरिन्छ । यि सबै समितिहरुमा महामन्त्रीहरु पदेन महामन्त्रीको रुपमा रहेर निर्णय प्रक्रियामा सहभागी रहेका छन् ।
स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारी तय गर्दा महामन्त्रीहरुले पनि भागबण्डा लिनु भएको होईन र ?
त्यति मात्र होईन । अन्य दलसंगको गठबन्धनमा सीट बाडफाड, मन्त्री पदमा भागबण्डा देखि असंबैधानिक उच्च स्तरिय राजनीतिक संयन्त्रसम्म पनि महामन्त्रीको सहभागिता भएको होईन र ? अहिलेको बेथितिहरुको सम्पुर्ण दोष आदरणीय सभापतिको टाउकोमा राखेर महामन्त्रीहरु चोखो हुन कसरी मिल्छ ? सम्पुर्ण निर्णय प्रक्रियामा सहभागी भएको कारणले महामन्त्रीहरुले पनि पार्टीले गरेको सबै निर्णयहरुको जिम्मेबारी लिनु पर्दैन र ?
अहिलेको पार्टी भित्रको बेथितिहरुको दोषी कार्यकारी अधिकार प्रयोग गरिरहेका महामन्त्रीहरु पनि होईनन् र ?
आदरणीय सभापतिले आफ्नो कर्म र बचनले आफु माथि उठेका प्रश्नहरुको उत्तर दिनु भयो । वहांले उप सभापतिलाई कार्यवाहक दिनु भयो ।
अब कर्मले जवाफ दिने पालो महामन्त्रीहरुको ।
के आदरणीय सभापतिले जस्तै महामन्त्रीहरुले पनि कुनै दुई जना सह-महामन्त्रीहरुलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिने आट गर्न सक्नु हुन्छ ? त्यो नैतिकता प्रदर्शन गर्न सक्नु हुन्छ ?
यसैले, प्रश्न आदरणीय सभापतिलाई मात्रै होईन, कार्यकारी अधिकारको प्रयोग गरेका महामन्त्रीहरुलाई पनि गर्न मिल्छ होला नि ?
महासमितिको बैठकमा (नीति अधिवेशन) दुई जना महामन्त्रीहरु मध्ये एक जनाले राजनीतिक र अर्कोले सांगठनिक प्रस्ताव पेश गर्नु भएको थियो । वहांहरुले पेश गर्नु भएको राजनीतिक र सांगठनिक प्रस्तावका नीतिहरु र कार्यक्रमहरु अहिले असान्दर्भिक र असफल प्रमाणित भई सक्यो ।
नीति पनि असफल र नेतृत्व पनि असफल भई सके पछि पनि नैतिकरुपले महामन्त्रीहरु पदमा बसि रहन मिल्छ र भनेर प्रश्न गर्न पाईने कि नपाईने ?
दोष व्यक्तिको मात्रै हो कि शासकिय पद्धतिको पनि हो । यदि दोष शासकिय पद्धतिको पनि हो भने व्यक्ति परिवर्तनको बहस मात्रै किन ? व्यक्ति परिवर्तनको बहस संगसंगै शासकिय पद्धति परिवर्तनको बहस किन नगर्ने ? शासकिय पद्धतिलाई परिवर्तन किन नगर्ने ?
राजनीतिमा कुनै पनि व्यक्ति जादुगर हुंदैन, जसले आमूल परिवर्तन गर्न सक्छ । असल शासकिय पद्धति र त्यसको सफल कार्यान्वयनले मात्रै आमूल परिवर्तन हुन सक्छ । होईन र ?
मेरो यि प्रश्नहरुको उत्तर मैले पाउन नसकेको कारणले म विशेष महाधिवेशनको पक्षमा उभिएको छुईन् । म प्रष्टसंग विशेष महाधिवेशनको विपक्षमा छु ।
पार्टीमा संविधान सभाको निर्वाचन पछाडि पनि धेरै व्यक्तिहरु संविधान सभा सदस्य र सांसद बनि सक्नु भएको छ ।
नेपालको संविधानको धारा ४७ मा मौलिक हक तथा अधिकार सम्बन्धि धारा १६ देखि धारा ४६ सम्मका मौलिक हक तथा अधिकारहरु कार्यान्वयन गर्न तीन बर्ष भित्र कानूनहरु निर्माण गरि सक्नु पर्छ भनेर स्पष्ट शब्दमा लेखिएको छ । तर आज १० बर्ष बिति सक्दा पनि कानूनहरु निर्माण भएका छैनन् । यि कानूनहरु किन बनेनन ?
यसैगरि नेपालको संविधानको अनुसूची ५ देखि अनुसूचि ९ सम्मका अधिकारहरु कार्यान्वय गर्नको लागि कानूनहरु निर्माण भएका छैनन् । यि कानूनहरु किन बनेनन् ?
कानूनहरु निर्माण नभईकन निर्देशिकाहरु र कार्यविधिहरु निर्माण हुन सक्दैनन् । कानूनहरु निर्माण नभएका कारणले संविधानमा स्पष्ट शब्दमा लेखिएका मौलिक हक तथा अधिकारहरु लगायतका धेरै अधिकारहरुको उपभोग आम नेपालीले गर्न पाएका छैनन् ।
मौलिक हक तथा अधिकारहरु सबै अधिकारहरु भन्दा महत्वपुर्ण र अनिवार्य होला नि । होईन र ? त्यो पनि कानूनको अभावमा उपभोग गर्न पाएका छैनौं ।
कानूनी दृष्टिकोणमा नेपालको संविधान पार्टीको विधान भन्दा माथि होला नि । होईन र ?
माननीय संविधान सभा सदस्य र सांसदहरुलाई प्रश्न गर्नु होला – तपांईहरुले दश बर्षमा पनि कानूनहरु किन निर्माण गर्नु भएन ? यो तपांईहरुको कमजोरी र असफलता होईन र ? आदरणीय सभापतिलाई प्रश्नहरु गरिएको जस्तै सांसद भईसकेका महामन्त्रीहरु र सांसद भईसकेका अन्य नेतागणलाई प्रश्न गर्नु होला – के कानूनहरु निर्माण नभए पनि संविधानमा लेखिएका मौलिक हक तथा अधिकारहरु लगायतका अधिकारहरु उपभोग गर्न पाईन्छ र ? पाईन्दैन भन्छन् भने पुनः सोध्नुहोस् – किन पाईन्दैन ? संविधानमा प्रष्टसंग लेखिएको मौलिक हक तथा अधिकारहरु लगायतका अधिकारहरु के कारणले उपभोग गर्न पाईन्दैन ? स्पष्ट जवाफ खोज्नु होला ।
नेपाली कांग्रेसको विधान र नियमावली छ । केही प्रश्नहरुको जवाफ बाहेक पार्टीको प्रायः हरेक समस्याहरुको समाधान पार्टीको विधान र नियमावलीमा स्पष्ट लेखिएको छ ।
तर धारा १७ (२) मा लेखिएको विशेष महाधिवेशनको सन्दर्भमा विधान र नियमावलीमा स्पष्ट व्याख्या गरिएको छैन । यसैले विशेष महाधिवेशनको काम, कर्तव्य र अधिकार विधानमा जबसम्म स्पष्ट व्याख्या गरिदैन, तबसम्म यो आकाशको फल मात्र हुनेछ । विधानमा लेखिएपछि त्यसको कार्यान्वयनको लागि नियमावलीमा स्पष्ट व्याख्या हुनुपर्छ र कार्यविधि बन्नु पर्छ । विशेष महाधिवेशन कसरी गर्ने ? यसको स्पष्ट मार्ग चित्र नियमावली र कार्यविधिमा हुनु पर्छ ।
सबैभन्दा पहिलो शर्त भनेको जति प्रतिशत भनेर दावा गरिए पनि विधान अनुसार न्यूनतम ४०% महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरको सनाखत हुनु पर्छ । न्यूनतम ४०% महाधिवेशन प्रतिनिधिहरुको सनाखत भई सकेको प्रमाणित भईसकेपछि मात्रै विशेष महाधिवेशनको अन्य प्रक्रिया प्रारम्भ हुन्छ ।
सबैभन्दा पहिले महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरहरुको सनाखत कुन निकायले गर्ने, कति समय भित्र सनाखत गरि सक्नु पर्ने, सनाखत गर्ने प्रक्रिया के हुने र सनाखतको प्रमाणिकरण कसले गर्ने भन्ने प्रश्नहरुको समाधानको लागि नियमावली र कार्यविधिमा स्पष्ट व्याख्या हुनु पर्छ ।
दोस्रो, विशेष अधिवेशन कसको सभापतित्वमा हुने हो ? यसमा प्रस्तावहरु कसरी र कसले लाने हो ? यसका अधिकारहरु के के हुने हुन् ? यसले केन्द्रीय समितिको निर्वाचन गर्न पाउने हो कि नपाउने हो ? विशेष महाधिवेशनले केन्द्रीय कार्य समितिको निर्वाचन गरेमा त्यसको कार्यकाल वा पदाबधि कति समयको हुने हो ? विशेष महाधिवेशनले पास गरेका प्रस्तावहरुको कार्यकाल वा पदावधि कति समयको हुने हो ?
केन्द्रीय महाधिवेशन भएको कति समयावधि भित्र विशेष महाधिवेशन बोलाउन पाउने हो ? विशेष महाधिवेशनमा हालको केन्द्रीय कार्य समितिको भूमिका र अधिकार के हुने हो ? विशेष महाधिवेशनमा हालको केन्द्रीय पदाधिकारीहरुको अधिकार र भूमिका के हुने हो ? विशेष महाधिवेशनमा हालका केन्द्रीय सदस्यहरुको अधिकार र भूमिका के हुने हो?
विशेष महाधिवेशनमा हालको निर्वाचन समितिको अधिकार र भूमिका के हुने हो ?
विशेष महाधिवेशनमा हालको अनुशासन समितिको भूमिका र अधिकार के हुने हो ?
यि सबै प्रश्नहरुको स्पष्ट र ठोस जवाफ नेपाली कांग्रेसको विधान र नियमावलीमा जबसम्म हुदैन, तबसम्म विशेष महाधिवेशन पार्टीको कुनै पनि निकायले गर्न सक्दैन ।
यो गंभीर वैधानिक जटिलताहरुको विषयमा पार्टीको महामन्त्रीहरुलाई राम्रोसंग ज्ञान छ । यी वैधानिक जटिलताहरुको वैधानिक समाधान खोज्न पार्टीका महामन्त्रीहरुले के के कामहरु गर्नु भयो ? वहांहरुलाई प्रश्न गर्नु होला । महामन्त्रीहरुलाई प्रश्न गर्नु होला – तपांईहरुले विशेष महाधिवेशनसंग सम्बन्धित प्रष्ट कार्यविधिको विषयमा नियमावलीमा किन लेख्नु भएन ? समयमा नै कार्यविधि किन बनाउनु भएन ?
वहांहरुलाई सोध्नु होला – फेसबुक र सामाजिक संजालहरुमा लेखेर मात्रै पार्टीको विशेष महाधिवेशन हुन्छ र ?
यसको लागि पार्टीको विधान अनुसार नियमावलीमा स्पष्ट लेखेर ठोस कार्यविधि बनाउन आवश्यक छैन र ?
महामन्त्रीहरुलाई सोध्नु होला – पहिलेका महामन्त्रीहरु र अहिलेका युवा महामन्त्रीहरुको कार्यशैलीमा के के फरकपन देखियो ? वहांहरुले यो चार बर्षमा पार्टीमा के के राम्रो कामहरु गर्नु भयो ? वहांहरुको कार्यशैलीले ३५ बर्षसम्मका युवाहरुलाई पार्टीमा किन आकर्षण गर्न सकेन ? वहांहरुले अग्रज र युवाहरुलाई प्रोमोट गर्नको लागि के के गर्नु भयो ? के महामन्त्री पद भनेको पनि कार्यकारी पद होईन र ?
वहांहरुले सांसदको रुपमा संसदमा कतिवटा कानूनहरु निर्माण गर्न भूमिका निर्वाह गर्नु भयो ? पार्टी भित्रको अबैधानिक भागबण्डामा चार बर्षसम्म किन सहभागी हुनु भयो ? भदौको २३ गतेसम्म वहांहरुको मुख किन खुलेन ? यस्ता धेरै प्रश्नहरु छन् , जसको उचित जवाफ पार्टीका असंख्य सदस्यहरुले खोजि रहेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन केवल भावना र राजनीतिक विषय मात्र होईन । यो त मुख्यरुपमा संबैधानिक, कानूनी र वैधानिक विषय पनि हो ।
विशेष महाधिवेशनमा कुनै पनि विवाद आयो भने यसमा देशको सम्मानित अदालत र निर्वाचन आयोगले निर्णय दिनु पर्छ । सम्मानित अदालत र निर्वाचन आयोगले निर्णय गर्दा महाधिवेशन प्रतिनिधिहरुको भावना र राजनीतिक मुद्दालाई हेरेर होईन, नेपाली कांग्रेसको विधान, नियमावली र कार्यविधि हेरेर निर्णय गर्नु पर्ने हुन्छ ।
नेपालको सन्दर्भमा २०४८ साल पछिको कुनै पनि पार्टीको कुनै पनि विशेष महाधिवेशनले सम्मानित अदालत र निर्वाचन आयोगबाट वैधानिक प्राप्त गरेको तथ्य मेरो ज्ञानमा छैन ।
अहिले देश र पार्टीमा आएको विषम परिस्थितिमा विशेष महाधिवेशन गर्नु हुंदैन । यसैले म व्यक्तिगतरुपमा विशेष महाधिवेशनको विपक्षमा छु ।
तपांईहरुको जस्तै मेरो पनि यो व्यक्तिगत वैधानिक अधिकार हो ।
भावनामा आएर आज गरेको सानो गल्तीले भोली सबैले ठुलो क्षतिको सामना गर्न नपरोस् । पछुताउनु नपरोस् ।
बेलैमा सचेत बनौं – महाधिवेशन प्रतिनिधिहरुको पवित्र, कंचन र असल भावनाको व्यापार केही व्यक्तिले कतै आफ्नो निहित स्वार्थ सिद्ध गर्न त गरिरहेका छैनन् ? गंभीर भएर सोचौं ।
महाधिवेशन प्रतिनिधिहरुको पवित्र र कंचन भावनाको उच्च सम्मान गर्दछु ।
साथसाथै कामना पनि गर्दछु कि विशेष महाधिवेशन केही व्यक्तिको लागि उज्यालोको बाचा र अन्ध्यारोको कारोबार नबनोस् ।
नेपालको अहिलेको गंभीर परिस्थितिले स्पष्ट गर्दछ कि अहिले नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्ने समय होईन् ।
आज मेरो कुरा तीतो लाग्न सक्ला । तर भविष्यमा कुनै दिन मेरा यी शब्दहरु तपांईको मन र मस्तिष्कमा गुन्जिनेछ कि अहिले विशेष महाधिवेशन गर्नु हुंदैन र यो उचित समय पनि होईन ।

https://www.facebook.com/kalyan.gurung.5

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *