काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले देशभर गरेका विध्वंसपश्चात् जलेर खरानी भएका भौतिक संरचनाको पुनर्निर्माण अझै अनिश्चित छ। आन्दोलनका घाउहरू निको पार्नुपर्ने बेला राजनीतिक दलहरू भने पुनः निर्वाचनकेन्द्रित शक्ति प्रदर्शनमा व्यस्त देखिँदा जनस्तरमा असन्तोष बढ्दै गएको छ।
राजधानीदेखि ग्रामीण क्षेत्रसम्म आन्दोलनका क्रममा सरकारी भवन, कार्यालय, सडक र सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति नष्ट भएका छन् । तर अहिले पनि ती संरचना पुनःनिर्माणको स्पष्ट योजना सार्वजनिक भएको छैन। अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने निर्वाचन तयारीलाई प्राथमिकता दिएपछि पुनर्निर्माणको विषय राजनीतिक एजेन्डाबाट ओझेलमा परेको देखिन्छ।
विश्लेषकहरू भन्छन्— “जेनजी आन्दोलन केवल विध्वंस होइन, असन्तुष्ट पुस्ताको आवाज पनि हो। तर त्यो आवाजका कारण नष्ट भएका संरचना पुनःनिर्माणमा त्यही पुस्ता र राजनीतिक दलको सहभागिता नभए आन्दोलनले उठाएको मुद्दा पनि अर्थहीन बन्न सक्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दशदलीय गठबन्धन अहिले देशव्यापी अभियान र शक्ति प्रदर्शनमा जुटिरहेको छ। हजारौँ कार्यकर्ता र युवा भेलामा जुटाइँदैछन्, तर पुनर्निर्माणका लागि त्यही ऊर्जा प्रयोग गर्ने पहल भने देखिँदैन। आलोचकहरूका अनुसार, “झण्डा बोकेर र ताली बजाएर पार्टी सुदृढ हुँदैन, भौतिक संरचना पुनःनिर्माणमा सहभागिता नै जिम्मेवार राजनीतिको पहिचान हो।”
नेकपा (एमाले) ले भने जलेर खरानी भएका संरचना पुनःनिर्माणमा लाग्ने घोषणा गरिसकेको छ, तर त्यसको कार्यान्वयनको गति पनि सुस्त छ। जेनजी आन्दोलनमा संलग्न युवापुस्ता तथा पार्टीलाई पुनःनिर्माणमा सहभागी गराउने पहल देखिएको छैन् , जसले आन्दोलनको जिम्मेवारी र राजनीतिक नेतृत्वको संवेदनशीलतामाथि प्रश्न उठाएको छ। यस्तै नेपाली कांग्रेसले पनि देशका मुख्य एजेण्डाभन्दा आन्तरिक विवादमा केन्द्रित छ । अन्य वैकल्पि शक्तिहरुले पनि पद र कुर्सीका लागि लडाईँमा लागेको देखिन्छ । आन्दोलनबाट ध्वस्त बनेका संरचना पुनः निर्माणमा भने शुन्य ध्यान दिएको छ ।
समाजशास्त्रीहरूका अनुसार, पुनर्निर्माण प्रक्रियामा जेनजी पुस्ता, स्थानीय समुदाय, राजनीतिक दल र सरोकारवाला सबैको संयुक्त सहभागिता अनिवार्य छ। उनीहरू भन्छन्— “राजनीतिक शक्ति प्रदर्शन होइन, जनताको विश्वास जितेर पुनःनिर्माण गर्ने समय आएको छ।”
जेनजी आन्दोलनले नष्ट गरेको संरचनाको पुनर्निर्माण केवल इट्टा र ढुंगाको काम होइन, यो जिम्मेवार नेतृत्व, नागरिक चेतना र नयाँ पुस्तासँगको सहकार्यको परीक्षा हो। अहिलेको राजनीतिक प्राथमिकताले त्यो परीक्षा पास गर्न तयार भएको देखिँदैन। धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले नगरको विकासमा जनसश्रमदानबाट नै ठूलो परिवर्तन ल्याएका छन् । त्यसै गरी अन्य राजनीतिक दलहरुले पनि आन्दोलनबाट क्षेती भएका भौतिक संरचनाहरुको पुनःनिर्माणलाई त्तत्काल सुरुवात गर्नुपर्छ । त्यसपछि मात्र नेपाली नागरिकहरुले राजनैतिक दलहरुप्रति पूर्ण विश्वास राख्न सक्छन् ।




